केशवप्रसाद चौलागाईं
नत्वा गोरक्षमत्स्येन्द्रौ गुह्यं पशुपति तथा।
अयं कीर्तिपताकाया भावर्थो भण्यते मया।।
जस्को भक्ति गरेर तथा जस्का पाउको सेवा गरेर ब्रह्मा,बिष्णु,इन्द्र,देव,दैत्यहरु सर्वदा विघ्न बाधा दुर गर्छन र समुन्द्र मन्थनमा महादेव प्रमुख निखिल देवताहरुले पनि जस्को आराधना गरेर सिद्धि पाए,ती यिनै गणेशले तपाई सबै जनताको दुरित दुर गरून्।कीर्तिपताकाको प्रथम श्लोकलाई स्मरण गर्दै ललितपुर महानगरपालिका स्थित २६ टोलहरुको वर्णन सुन्दर ढंगले गरिएको छ।ललितपुरका स्वनामधन्य राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लका समयका विद्वान गुरु कुनु शर्माद्वारा लेखिएको कीर्तिपताका सम्पुर्ण नेपालीहरुका लागि एतिहासिक महत्त्व को कृति हो।तत्कालीन ललितपुरका २६ टोलको बिषयमा गरिएको बर्णनले ललितपुरलाई सृष्टि ,ज्ञान र सम्पदाको बिश्वकेन्द्रका रुपमा परिचित गराउन मद्दत पुग्दछ।सम्पदा संरक्षण ,धार्पर्यटन,सभ्यता सम्बाद र सौम्यशक्तिको अभ्यासलाई सफल बनाउन अभियानकै रुपमा सञ्चालन गर्ने यो प्रयास हो।
प्रथम त्यो निघल टोलको ( हालको टंगल टोल) वर्णन गरिन्छ।
बुयिनाय- ललितपुरका दक्षिण दिशामा श्रीयुक्त ऋद्धिसिद्धि विशुद्धि फल दिने ,सिद्धोत्सव श्री दिने ,सिद्धहरुलाइ साध्यदेवहरुलाइ वर दिने ,सर्वदा उत्सवानन्द भएका गंगाधर प्रिय गणेश विराजमान छन।वर्तमानमा वुइना गणेशको रुपमा टंगल टोलमा प्रसिद्ध रहेको छ।
खिम टोल- ( वर्तमानमा टंगल टोल) जुन टोलमा नाना योग वियोग,संयोग वर दिने योगिनी गणले सेवित भएकी ब्रह्मा,बिष्णु,महेश्वर,इन्द्र,अग्नी ,यमराज ,वरुण,वायु ,कुबेर आदि दिकपालहरुले पाउको सेवा गरिएकी र सिद्ध मुनिले वेदहरुले पूजिएकी गिरिराज हिमालकी पुत्री राजराजेश्वरी पार्वती बिराजमान छन।यो बर्णनका आधारमा श्रीकाली पीठ भएको स्थानलाई जनाउछ।दशमहाविद्या मध्येको एक प्रमुख पीठ बाट २०८२ भार्द्रशुक्ल अष्टमीका दिन दशमहाबपद्याको पूजन तथा जात्रा प्रारम्भ गरिएको थियोे ।यहि टोलमा विद्वान कुनु शर्माको जन्मभएको लेखाइबाट थाहा हुन्छ।
त्यसै खिम टोलमा( हालको टंगल टोलमा) मीननाथ विराजमान छन।नाना भांतिका बुद्धगण र शाक्य मुनिहरुका साथमा देवताहरु मीननाथको पूजा गरिरहन्छन,विशाल मन्दिरमा देदीप्यमान सुनौला कलश छन।उत्तम सकल अङ्ग प्रत्यङ्गमा भाति भातिका भूषणहरु छन।चम्किलो जवापुष्पका जस्तो शरीरको कान्ति छ।वर्तमानमा पनि प्रसिद्ध मीननाथ जटाधारी पद्मपाणी लोकेश्वरको रुपमा प्रसिद्ध हुनुहुन्छ ।मीननाथको स्त्रोत्रले भक्तजनमा श्रद्धा जगाउन मद्दत गरिरहेको छ।
” पाथः संयुतमेघसन्नि भतनुः प्रद्धोतनस्यात्मजो।
नृणां पुण्यकृतां शुभावहवपुः पापीयसां दुःखकृत्।।
श्रीमान्दक्षिणनदिकपतिर्महिषगो भूषाम्बरालङ्कृतो।
ध्येयः संयमिनी पतिःपितृपति श्रीमीननाथ: प्रभू: ।।
जन्मदिने मीननाथ र मृत्युदिने यमराजको पनि स्थान रहेको यो बिहार सबैभन्दा पुरानो वौद्ध बिहारको रुपमा स्थापित रहेको छ।
अनि जुन खिमटोलमा( वर्तमान टंगल टोल) मत्स्येन्द्रनाथ विराजमान हुनुहुन्छ र मत्स्येन्द्रनाथका मन्दिरमा सुनौला तिनौटा छाना छन।अनेकन कृतिम पुतलीहरु छन्।चारै तिर सुनौला उज्याला ढोका छन।सुन्दर सुन्दर झ्याल छन्।मत्स्येन्द्रनाथले सुशोभित मत्स्येन्द्रनाथ मन्दिर विष्णुले सोभित सुमेरु पर्वत जस्तो देखिन्छ ।मत्स्येन्द्रनाथको रुप कस्तो ? भने अग्लो नाक पुष्ट गाला,कुण्डल मंडित कान, सुन्दर जटा,गोल काक्रीजस्तो ओठ,विशाल तिनौटा नेत्रले मुखमण्डल विजुलीझै चम् चम् चम्की रहेछ।कान्तिमय किरण भएका सूर्य तथा अग्नी का जस्तो तेजिलो गाथ भएका मत्स्येन्द्रनाथ प्रभूका पाउ,इन्द्रादि देवताहरुको मुकुटका उत्नहरुका किरणले झलमल उज्याला छन्।एवं प्रकार गरिएको मत्स्येन्द्रनाथको बर्णन र अहिले मत्स्येन्द्रनाथको रथजात्राले पारिरहेको प्रभावलाई बुझाउन सक्दा सौम्यशक्तिको महत्त्व लाई स्थापित गराउन सकिन्छ ।मत्स्येन्द्रनाथको स्त्रोत्र पनि लाभकारि रहेकाले चर्चा गर्नु उपयुक्त हुन्छ ।
कापोतलाचल भूमिविजय नेपाल द्वादशवत्सरे अनाबृष्टि मोक्षणार्थम्।
आराधितश्रीबुंगमल्लोकेश्वरं गुरुवन्धुदत्तनृपश्रीनरेन्द्रदेवम्।
रथंचक्रमया यात्रा गमनललितापुरि पूजित सरोजपाणि त्रैलोक्यनाथम्।
येन भक्तिर्येन मोक्ष प्रदाता पादपङ्कज युगे नौमि शिरसा।।
मत्स्येन्द्रनाथको नेपाल आगमणको रोचक प्रसंग सहितको जानकारी हरेकले राख्नुपर्ने कुरा हो।गुरु गोरखनाथले काठमाडौं उपत्यकाको सबै नागहरुलाइ आसन लगाएर बसे पश्चात् पानी नपरेर अनिकालको स्थिति आएकाले आसामको कामरुप कामाक्षाबाट गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याएर समस्या समाधान गरिएको कथा पनि रोचक रहेको छ।उनै मत्स्येन्द्रनाथको रथयात्रा विश्वकै प्राचीन रथयात्राका रुपमा प्रसिद्ध रहेको छ।मत्स्येन्द्रनाथको रथ संगै मीननाथको पनि रथ निकालिन्छ।मीननाथको रथ अघिअघि रहने गर्दछ।मीननाथ मत्स्येन्द्रनाथ भन्दा अघि देखिनै रहेकोले अघिअघि राखिएको भन्ने मान्यता पनि रहेको छ।रथ निर्माणको शास्त्र ,विधि र परम्परा दैवी मौलिक परम्पराका रुपमा रहेको छ।गुरु वन्धुदत्त आचार्यले रातो मत्स्येन्द्रनाथको रथ निर्माण तन्त्रको वीजाक्षरबाट गरेको पाइन्छ ।” ॐ मन्त्राधिष्ठित भूमिमध्ये
यँकारादि चतुर्वीजसंजातं।
महाभूतं वाथ्वग्निजलावनि
तत्रोपरि सुंकारेण सुमेरुमण्डलं।
रत्नसिंहासनं तत्र पद्मचन्द्रे
श्रीवज्रसत्वमात्मनं ध्यायेत्।
यंकार वीजबाट उत्पत्ति भएको वायुमण्डलको रुपमा पाङ्ग्रा राखियो ।यसै वायुमण्डल माथि रंकार वीजबाट उत्पन्न भएको अग्निमण्डल स्वरुप पाङ्ग्रामा त्रिअग्निको प्रमाण त्रिनेत्र राखियो ।वंकार वीजबाट जलमण्डल उत्पत्ति भएको प्रमाण स्वरुप जलाधिपति कर्कोटक नागराज धःमा राखियो ।यश जलमण्डल माथि लंकार वीजबाट उत्पन्न भएका पृथ्वीमण्डल स्वरुप चारपाटे खट स्थापना गरियो ।यश पृथ्वीमण्डल माथि सुँकार वीजबाट उत्पन्न भएको सुमेरुमण्डलको स्वरुप अनुसार अष्टशृङ्गार,चतुद्वीप,सप्तरत्न एवम् सोह्र उपद्वीप साथै सूर्य चन्द्रको परिक्रमा गरेको सांकेतिक मान अंकित गरि बत्तिस हात अग्लो वेतले वेरेर प्राकृतिक वातावरण संग मिश्रण हुने हरियो लःस्वाँ( धुपि) ले सजाउने गरिन्छ।सम्पूर्ण पृथ्वीको परिक्रमा गरेको सांकेतिक रथजात्रा सिद्ध परम्पराको ज्वलन्त उदाहरण हो।सृष्टिको २५ तत्व र इश्वर सहितको २६ तत्वलाइ स्थापित गर्ने गरि विद्वान् गुरु कुनु शर्माले २६ टोलको आधार लिइ रचना गर्नु र प्रसिद्ध मत्स्येन्द्रनाथ जात्राको वीजाक्षर सहितको रथ निर्माण गर्नुले ललितपुर सृष्टि ,ज्ञान र सम्पदाको विश्व केन्द्रका रुपमा रहेको स्पष्ट हुन्छ।वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय द्वन्द्व समाधानमा योगदान पुर्याउन निम्न प्रयासहरुले मद्दत पुग्न गई विश्वको आस्थाको केन्द्र बन्नेछ ।
क) द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका ,अनुसन्धान ।
ख) स्वराज्य र मेलमिलाप : भावी विश्वको आधार ।
ग) सम्पदा र शान्ति ।
घ) संस्कृति ,स्वराज्य र समाजवाद ।
ङ) शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता ।
च) हाम्रो सम्पदा।ललितपुरका १०० सम्पदाहरुको सचित्र वर्णन ।
छ) स्थानीय तह: कार्यसम्पादन तथा सुशासन ।
ज) नयाँ दर्शन र पुराना सोच।
झ) पशुपतिनाथ र विश्वव्यवस्था।
कीर्तिपताका मा उल्लेखित २६ टोलहरु मध्ये प्रथम टोलको यो बिबरण झै अन्य टोलको विवरण पनि एतिहासिक रहेका छन।बौद्ध धर्मावलम्बीहरुको आस्थाका स्थल तथा हिन्दुधर्माबलम्बिहरुको आस्थाका स्थलहरुमा साझा संस्कृतिको अभ्यास निरन्तर भइरहनु धार्मिक सांस्कृतिक सहिष्णुताको उदाहरण हो।रातो मत्स्येन्द्रनाथको रथ निर्माणमा पाँच विभिन्न जाती समुहको संलग्नताले जातीय सहिष्णुताको पनि उदाहरण बन्न पुगेको छ।बोसी,वाराहि,यवाँल,चित्रकार र ध:कु जाती समुहको उत्तरदायीपुर्ण संलग्नताले ” शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता ” को अनुपम अभ्यासलाई अभियानका रुपमा अगाडि बढाउन मद्दत पुग्नेछ ।” आ यद् वामीय चक्षसा मित्र वयं च सुरय: ।व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये।।” अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौ भन्ने ऋगवेदको वचनलाइ व्यवहारमा उतार्न मद्दत पुग्नेछ ।सांस्कृतिक कुटनीतिको अभ्यास बढ्दै गइरहेको परिपेक्षमा मत्स्येन्द्रनाथलाई नेपाल – भारत बीचको सांस्कृतिक कुटनीतिको महत्त्वपूर्ण आधारका रुपमा स्विकार्नु गौरवको कुरा हो। अन्य पनि अमुर्त सांस्कृतिक सम्पदाहरुका कारण मुलुकको प्रभाव र गौरब बढाउन मद्दत पुगीरहेको छ।घृणा र हिंसाको वातावरणलाई शान्ति ,समृद्धि र मेलमिलापको वातावरणमा रुपान्तरण गर्न हाम्रो सम्पदाहरुले खुला संग्रहालय तथा खुला विश्वविद्यालयको रुपमा सेवा गरिरहेका छन।
लेखक चौलागाईँ धर्माचार्य तथा निरन नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।