मोरङ : भाद्र २३ र २४ गते भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुला गर्न माग गर्दै सत्ताविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका युवाको स्मृतिमा मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा ‘जेन्जी विश्रामस्थल’ स्थापना गरिएको छ।
सचेत युवा समूहको अगुवाइमा बनेको उक्त विश्रामस्थललाई भ्रष्टाचारविरुद्धको संघर्षमा प्राण गुमाएका युवाको प्रतीकका रूपमा निर्माण गरिएको हो।
भ्रष्टाचार अन्त्य तथा सामाजिक सञ्जालमाथिको बन्दाबन्दी हटाउन माग गर्दै सडकमै उत्रिएका जेनेरेशन जेड (जेन्जी) का युवामाथि सुरक्षा निकायले गोली चलाउँदा दर्जनौं युवाको मृत्यु भएको थियो । सोही घटनाको स्मृतिमा युवाहरूले यो विश्रामस्थल निर्माण गरेका हुन्।
स्मारकस्थलमा आन्दोलनको प्रतिकका रूपमा रातो रगतले लतपतिएको जुत्ता राखिएको छ। युवाहरूका अनुसार उक्त जुत्ताले तत्कालीन आन्दोलनको त्रासदीपूर्ण क्षण सम्झाउनेछ।
‘आफ्नो गाउँ, आफैं बनाऔँ’ भन्ने मूल नारासहित सक्रिय सचेत युवा समूहले लामो समयदेखि स्थानीय तहमै भ्रष्टाचारविरुद्ध सचेतना फैलाउँदै आएको छ। समूहका सदस्यहरूका अनुसार, विश्रामस्थल आउने बटुवाले जेन्जी आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न सक्नेछन्।
विश्रामस्थल निर्माणमा स्थानीयको श्रमदान र युवाको चन्दा प्रयोग भएको जनाइएको छ। स्मारकमार्फत उनीहरूले आउँदो पुस्तालाई भ्रष्टाचारविरुद्धको आवाज उठाउन प्रेरणा दिने विश्वास लिएका छन्।