ओमन : दीपेन्द्रसिंह ऐरीको सर्वोत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा विजयी सुरुवात गरेको छ। ऐरीले तीन विकेट लिँदै र उत्कृष्ट फिल्डिङ गर्दै नेपाललाई यूएईमाथि १ रनको रोमाञ्चक जित दिलाए।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको मध्यम स्कोर खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्दै ५१ रन जोडे भने कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रन थपे।
१४१ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै रोकिएको थियो। यूएईका अलिशान सराफुले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालका ऐरीले ३ विकेट लिए भने बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले किफायती प्रदर्शन गरे।
यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोड्दै विश्वकप छनोटमा बलियो स्थिति बनाएको छ।