

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्ने भएको छ।
शुक्रबारका लागि बोलाइएको बैठक विवादका कारण स्थगित भएपछि आज दिउँसो १ बजे पुनः बस्ने तय गरिएको हो। बैठकमा आसन्न १५औँ महाधिवेशनको तयारी तथा सम्बन्धित एजेन्डामाथि विस्तृत छलफल हुने बताइएको छ। शुक्रबारको बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो। त्यसै कारण बैठक स्थगित गरिएको थियो।
आजको बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन्। कांग्रेस नेतृत्वका अनुसार, आजको बैठकबाट महाधिवेशनको मिति, कार्यतालिका र तयारीका विषयमा स्पष्ट निर्णय हुने अपेक्षा गरिएको छ।
