


काठमाडौँ : केन्द्रमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेश सरकारमा देखिन थालेको छ।
कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा औपचारिक निर्णय गर्ने तयारी गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको हो ।
प्रदेश कांग्रेसले मन्त्रीहरू र संसदीय दलको बैठक बोलाएको छ। काठमाडौंमा रहेका मन्त्रीहरू पनि देउखुरी फर्कँदै छन्। प्रदेश सभापति अमरसिंह पुनले मन्त्रीको राजीनामा र समर्थन फिर्ताको निर्णय आजै हुने संकेत दिएका छन्।
८३ सदस्यीय प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। कांग्रेस सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ। कांग्रेस र माओवादी केन्द्रसँग ४० सांसद रहेकाले सरकार गठनका लागि लोसपा, जसपा, जनमत वा अन्य साना दलको समर्थन निर्णायक बन्ने देखिएको छ।
उता एमालेले पनि नयाँ समीकरणका लागि अन्य दलसँग छलफल अघि बढाएको छ। केन्द्रको राजनीतिक समीकरणले अब लुम्बिनी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |