


सञ्चारगृह र अन्य स्थानमा सरकारी गाडी तेर्स्याएर आवागमन अवरुद्ध गरिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले असन्तुष्टि जनाएका छन्। उनले राज्य संयन्त्रबाटै नागरिकलाई सास्ती र त्रास हुने गतिविधि स्वीकार्य नहुने भन्दै घटनामा संलग्न जो–कोहीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत बुधबार प्रतिक्रिया दिँदै झाले राज्यको पहिलो दायित्व नागरिकका समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्य आफैँले सार्वजनिक आवागमन अवरुद्ध गर्ने वा नागरिकलाई असहज बनाउने गतिविधिमा संलग्न हुन नहुने बताएका छन्। उनले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर सडक अवरुद्ध गरिएको घटनालाई कानुनी शासनविपरीतको कार्यको संज्ञा दिएका छन्।
‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत अभ्यासका लागि जेन्जी पुस्ताले शहादत गरेको हो ? भन्दै उनले राज्यका गतिविधिमाथि प्रश्न उठाएका छन्।
झाले यस्ता कार्यबाट सुशासन स्थापित हुन नसक्ने जिकिर गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। राज्यका निकायले शक्ति प्रदर्शनभन्दा विधिको शासनलाई प्राथमिकता दिनुपर्ने र घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |