


काठमाडौँ : “तपाईंले घडीको सुई बिग्रियो भने मिलाउनुहुन्छ, तर वर्षौँदेखि सिङ्गो देशको पात्रो नै बिग्रिएर गलत समयमा दौडिरहेको छ भन्दा विश्वास गर्नुहुन्छ?”
पर्व समय सुधार राष्ट्रिय समाज नेपालका केन्द्रीय सदस्य किशोर रेग्मीको यो प्रश्नले जोकोहीलाई एकछिन सोच्न बाध्य बनाउँछ। हामी खुसी खोज्न, धर्म कमाउन र आत्मशान्तिका लागि दिनभरि निराहार व्रत बस्छौँ, ठूलो खर्च गरेर आफन्त बोलाउँछौँ र महायज्ञ गर्छौँ। तर, यदि हामीले जुन ‘साइत’ र ‘तिथि’मा त्यो सब गरिरहेका छौँ, त्यही समय नै गलत छ भने नि?
रेग्मीको दाबी मान्ने हो भने, अहिले नेपाली समाजमा बढेको अशान्ति, पारिवारिक विचलन र देशकै गञजागोलको पर्दापछाडि यही ‘बिग्रिएको पात्रो’ मुख्य कारक हो।
‘बिहे भनेको दुईवटा मुटुको जीवनभरको मिलन हो,’ रेग्मी भन्छन्, ‘अहिले किन दिनहुँ डिभोर्सका केसहरू बढिरहेका छन्? किन मान्छेहरूबीच मेलमिलाप छैन? किनभने मान्छेहरू गलत साइतमा बाँधिएका छन्। गलत समयमा गलत बाटो हिँडेपछि काँडाले नकोरेर के गर्छ त?’
वैज्ञानिक रूपमा हेर्ने हो भने असारको ६-७ गते वर्षको सबैभन्दा लामो दिन हुन्छ। तर हामी त्यसको करिब तीन सातापछि साउन १ गते पुगेर ‘कर्कट सङ्क्रान्ति’ र लुतो फाल्ने पर्व मनाउँछौँ। उता पुस ६ गते नै वर्षको सबैभन्दा छोटो दिन भइसक्छ, तर हामी २६ दिन पर्खिएर माघ १ गते बल्ल ‘माघे सङ्क्रान्ति’ र उत्तरायणको उत्सव मनाउँछौँ।
‘ज्योतिष र खगोलशास्त्र कुनै हावादारी गफ होइन, यो त शुद्ध गणित र पृथ्वीको मेकानिजम हो,’- रेग्मी तर्क गर्छन्। उनी बेलायतले विगतमा पात्रो सुधार गरेपछि नै विकासको सही ट्रयाक समातेको र चीनले समेत लोसारको मिति सच्याएर अघि बढेको उदाहरण दिन्छन्।
नेपाल सरकारले २०६५ सालमै पात्रो सुधारको निर्णय गरे पनि पञ्चाङ्ग निर्णायक समितिले परम्पराको दुहाई दिँदै उही पुरानै गल्ती दोहोर्याइरहेको उनको आरोप छ।
‘स्याउ खाँदा अलिकति कुहिएको भाग छ भने त्यसलाई फालेर बाँकी खाइन्छ नि,’मुस्कुराउँदै रेग्मी अन्त्यमा भन्छन्, ‘हाम्रो क्यालेन्डरमा परेको २६ दिनको यो त्रुटिलाई पनि एकाध वर्षमा चार-पाँच दिन गर्दै क्रमैसँग मिलाउँदै लाने हो भने हाम्रो संस्कृति पनि जोगिन्छ, र मान्छेले गर्ने कर्मको वास्तविक फल र आत्मशान्ति पनि मिल्छ।’

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |