


काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा पुनरवलोकनका लागि दिएको निस्सालाई कांग्रेस एकताका लागि ‘अन्तिम अवसर’ का रूपमा उपयोग गर्न आग्रह गरेका छन्। उनले सभापति गगन थापालाई तत्काल एकताको पहल लिनसमेत अपिल गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सर्वोच्चको निस्सापछि कांग्रेसका नेताहरूबाट सामाजिक सञ्जालमा व्यक्त विचार र टिप्पणीले आफू चिन्तित भएको बताएका छन्।
देशको राष्ट्रियता र लोकतान्त्रिक संविधान संकटमा परेको तथा कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा पुगेको उल्लेख गर्दै उनले अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको बताए। त्यसका लागि सहिष्णुता, संवेदनशीलता, सहअस्तित्व र संवादमार्फत सहमति कायम गर्नुपर्ने उनको भनाइ छ।
खड्काले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ अघि बढ्न नेताहरूलाई आग्रह गरेका छन्।
‘निर्णायक तपाईं हो-तपाईं,’ भन्दै उनले सभापति थापालाई एकताको अग्रसरता लिन आग्रह गरे। सामाजिक सञ्जालमा हुने दोहोरी र गालीगलौज बन्द गर्न पनि उनले सबैलाई अपिल गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |