


काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाएपछि मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्ने बताएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म त्यस्तो अवस्था कायम नरहने दाबी गरेका हुन्।
ओलीले दशकौँ लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा तथा सुदृढीकरण गर्ने दायित्व सबैको रहेको उल्लेख गरेका छन्। देशका सबै समुदायको सहभागितामा समृद्धिको लक्ष्यतर्फ अघि बढ्न सफलता प्राप्त हुँदै आएको उनको भनाइ छ।
नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएकाले यसलाई विभाजनको आधार नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने उनले बताएका छन्। सदियौँदेखि कायम आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ प्रगाढ बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायलाई शुभकामना दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |