डा.महेन्द्र जंग शाह
न्याय दर्शनको पाथ
न्यायका दर्शनले इतिहासमा विभिन्न दार्शनिकहरूले न्यायको अर्थ, महत्व, र कार्यान्वयनबारे आ–आफ्ना विचारलाई बुझाउछ । न्याय केवल कानूनी प्रक्रिया मात्र होइन, यो मानव जीवन र समाजको आधारशिला हो, जसलाई दार्शनिकहरूले सधैं खोज्दै आएका छन । न्याय दर्शनका प्रवर्तक ऋषि अक्षपाद गौतमले “नीयते विवक्षितार्थ: अनेन इति न्याय” तर्क गर्नु, प्रमाणको साधन, प्रमेय, साध्य र साधन परिक्षण गरिनुलाई जोड दिएका छन । प्रचिन कालमा वात्स्यायन मुनिले मध्यकालमा वाचस्पति मिश्रले आधुनिक कालमा उदयवीर शास्त्रीले यसमा भाष्य लेखेका छन् । गौतम ऋषिबाट रचित न्यायसूत्रको प्रथम अध्याय, प्रथम पाद, प्रथम सूत्रले “प्रमाण (ज्ञानका साधन), प्रमेय (ज्ञानका विषय), संशय (शंका), प्रयोजन (उद्देश्य), दृष्टान्त (उदाहरण), सिद्धान्त (स्थापित सत्य), अवयव (तर्कको संरचना), तर्क (युक्ति), निर्णय (निष्कर्ष), वाद (सत्कथन), जल्प (विवाद), वितण्डा (विरोधको लागि विरोध), हेत्वाभास (कु-तर्क), छल (छलपूर्ण तर्क), जाति (विरोधका अनेक रूप), निग्रहस्थान (हार स्वीकार्ने अवस्था) यी सबै तत्वहरूको यथार्थ ज्ञानबाट परम श्रेय (मोक्ष) प्राप्त हुन्छ” भनिएको छ । न्यायसूत्रको १.१.२ ले “प्रमाणानि प्रत्यक्षानुमानोपमानाागमाः।” अर्थात प्रत्यक्ष (प्रत्यक्ष अनुभव), अनुमान (तर्कद्वारा अनुमानित ज्ञान), उपमान (तुलना वा उपमा द्वारा प्राप्त ज्ञान) र आगम (शब्द वा प्रमाणिक वचन) यीलाई “चत्वारि प्रमाणानि” बुझेपछी मात्र निर्णय हुन्छ । न्यायसूत्रको १।१।३ ले “प्रमाणजन्यं यथार्थानुभवः प्रमाणम्।” अर्थात प्रमाण (न्यायको स्रोत) त्यो हो जसले वास्तविकता अनुसारको न्याय दिन्छ । जुन न्याय प्रमाणद्वारा उत्पन्न हुन्छ र सत्य हुन्छ, त्यो प्रमाण हो।
न्यायको आधारकर्ता सोकरेटिसले कानून र नैतिकतामा नैतिक जीवन र सत्यको खोजी गरी “अज्ञानता नै सबै पापको जरा हो” भने । प्लेटोले “प्रत्येक व्यक्तिले आफ्नो काम गर्ने र अरूको काममा नहस्” भनी परिभाषित गरी न्यायलाई आत्माको समरसता र राज्यमा वर्गीय समानताको स्तरमा न्याय देखे । बर्गमा शासक बुद्धि, रक्षक साहस र उत्पादक इच्छाले कर्तव्य देखे र ईमानदारीपूर्वक निर्वाह तथा अरूको कर्तव्यमा हस्तक्षेप गर्दैनन भने न्याय हुन्छ भने । अरस्तुले वितरण न्यायबाट साधन र सम्मान सदाचार न्यायबाट व्यवहारमा सन्तुलन र दुरुस्ती देखे । थॉमस एक्विनासले कानूनलाई “मानवता र स्वभावसँग मेल खाने न्याय” भनी परिभाषित गरे । इमानुएल कान्टले क्याटगोरिकल ईम्पेरेटिभमा न्यायले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए । जॉन स्टुअर्ट मिलले व्यक्तिको स्वतन्त्रता र समाजको सीमामा कानूनको भूमिका रहेको तथ्य बताएका थिए । जॉन रॉल्स न्यायको सिद्धान्तमा ओरिजनल पोजिसन र भेल अफ ईग्नोरेन्सबाट असमानतालाई संगती बनाउनका लागि सिद्धान्त प्रस्तुत गरे । थॉमस हब्सले बलियो राज्यले न्याय दिन्छ भने । जॉन लॉकले न्यायलाई स्वतन्त्रता र सम्पत्तिमा जोडे । हेगेलले न्यायलाई सामाजिक सम्बन्ध र राज्यको अभिव्यक्तिमा जोडे । जेरमी बेन्थमले कानूनलाई उपयोगितामा जोडे । हेन्स केल्सनले कानूनलाई सामाजिक तथ्यहरूबाट अलग र विशुद्ध तर्कको रूपमा व्याख्या गरेका थिए । रोनाल्ड ड्वार्टले कानूनलाई नियमहरूको संग्रह नभई तर्कसंगत नैतिक व्याख्या आवश्यक छ भन्ने मान्यता राखे । हर्बर्ट हार्टले सामाजिक नियम र कानूनी आदेश बीचको भेद स्पष्ट निकालेका थिए । कार्ल श्मिटले “संकटकालीन संप्रभु” को अवधारणा प्रस्तुत गरे । जोन रोल्सले न्यायलाई “न्यायको रूपमा निष्पक्षता”को रूपमा परिभाषित गरे । अमर्त्य सेनले न्यायलाई अवसर र क्षमता विकासमा देखे र भने “कानून केवल नियमको संचय होइन, यो समाजको नैतिकता, न्याय, र व्यवस्था कायम राख्ने दार्शनिक र व्यवहारिक प्रणाली हो । यी वाणीको जगमा न्यायका सुक्ति र उक्ति बने बनाईए ।
न्यायका सुक्ति र उक्ति
न्यायका मूल श्लोक धर्मशास्त्र र नीतिशास्त्रमा भेटिन्छन । महाभारले “यत्र धर्मः तत्र जय।” अर्थात जहाँ धर्म (न्याय) छ, त्यहाँ नै विजय हुन्छ भन्यो । मनुस्मृति ८।१५ ले “धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षितः। तस्मात् धर्मो न हन्तव्यो, मा नो धर्मो हतोऽवधीत्॥” अर्थात धर्म (न्याय) लाई नष्ट गर्नेले आफैँ नाश पाउँछ; र जसले धर्मको रक्षा गर्छ, धर्म उसलाई रक्षा गर्छ भन्यो । नीतिशतकले “न्यायाद् भीताः प्रजाः सर्वाः, न्यायं श्रेयो मनो विदुः।” अर्थात सबै प्रजाहरू (जनता) अन्याय होइन, न्यायबाट डराउँछन्, र न्याय नै सबैभन्दा उत्तम मार्ग हो भन्ने बुझेका छन् भन्यो । महाभारतले “राजा धर्मेण रञ्जयेत् प्रजाः स्वाः न तु दण्डेन।” अर्थात राजा (शासक) ले आफ्ना प्रजालाई दण्ड होइन, धर्म (न्याय) द्वारा सन्तुष्ट र सुखी तुल्याउनुपर्छ भन्यो । मनुस्मृतिले “दण्डो हि राज्ञः धर्मः स्यात्, तेन सर्वं प्रतिष्ठितम्।” भावार्थ: राजा (शासक) को धर्म भनेको न्यायको दण्ड हो । संसारको समुचित व्यवस्था दण्ड (न्यायिक संयन्त्र) द्वारा चल्दछ भन्यो । मनुस्मृति ४।१३८ “सत्यं ब्रूयात् प्रियं ब्रूयात्, न ब्रूयात् सत्यमप्रियम्। प्रियं च नानृतं ब्रूयात्, एष धर्मः सनातनः॥” अर्थात सत्य बोल, प्रिय बोल; तर अप्रिय सत्य नबोल। प्रिय बोल्दा पनि झुटो नबोल। यही सनातन धर्म (न्याय) हो भन्यो । मनुस्मृतिले “न वाचा परुषं ब्रूयात्, सत्यं ब्रूयात् प्रियं ब्रूयात्। स्वाध्यायेन च नित्यं युक्तो भूयात् यतात्मवान्॥” अर्थात कठोर वचन नबोल, सत्य बोल, प्रिय बोल। न्याय दिने व्यक्तिले स्वाध्याय र आत्मसंयममा सधैं संलग्न हुनुपर्छ भन्यो । महाभारतले यो हि धर्मार्थयोर्ही मध्ये यः तिष्ठति स पण्डितः। यः काममनुवर्तेत स मूर्खः प्रकीर्तितः॥” अर्थात जो धर्म (न्याय) र अर्थ (हित) बीच सन्तुलन कायम गर्छ, ऊ नै पण्डित हो। जो केवल स्वार्थ (कामना) पछ्याउँछ, ऊ मूर्ख हो भन्यो । मनुस्मृतिले “राजा तु धर्मेण नयं प्रतिपालयेत् प्रजाः। आत्मा हि राजा धर्मस्य, धर्मो रक्षति रक्षितः॥” अर्थात राजाले धर्म (न्याय) अनुसार प्रजाको पालना गर्नुपर्छ, राजा नै धर्मको संरक्षक हो र धर्मले नै उसलाई रक्षा गर्छ भन्यो । नीतिशतकले “प्रजाः स्वधर्मनिष्ठाश्च राजा धर्मपरायणः। तद्राष्ट्रं सर्वसिद्धं स्यात् सर्वैः सम्पद्यते शुभैः॥” अर्थात जब प्रजा स्वधर्ममा अडिग हुन्छ र राजा धर्मपरायण हुन्छ, त्यो राष्ट्र सफल, समृद्ध र शुभगुणले सम्पन्न हुन्छ भन्यो । महाभारतले “सत्यं हि मूलं नृप धर्मस्य सर्वं, सत्ये स्थितं भूतमिदं चराचरम्। सत्यान्नास्ति परं नास्ति सत्ये धर्मः प्रतिष्ठितः॥” अर्थात सत्य नै धर्म (न्याय) को मूल हो । सारा चराचर जगत सत्यमा आधारित छ भन्यो । सत्यभन्दा श्रेष्ठ केही छैन, न्याय (धर्म) पनि सत्यमै आधारित हुन्छ । मनुस्मृतिले “अदोषं दोषवत् पश्चेन् दोषवनं च निर्दोषवत्। नरकं स न गच्छेत्यः पश्यत्युक्तविपर्ययम्॥” ) अर्थात जो निर्दोषलाई दोषी देख्छ, वा दोषीलाई निर्दोष ठान्छ, त्यस्तो न्यायाधीश पापको भागी बन्छ भन्यो । “धर्मो रक्षति रक्षित” धर्म वा न्यायको रक्षा गर्नेले अन्ततः आफू पनि सुरक्षित रहन्छ। न्याय केवल नियमहरूको पालना होइन, सत्य, विवेक, करुणा र निर्भीकता को संयुक्त अभ्यास हो भन्यो । यी श्लोकहरूले न्यायलाई केवल कानूनी धाराको विषय होइन, धार्मिक, नैतिक र नीतिगत मूल्यको आधार मानेका छन् । शास्त्रीय अवधारणामा न्याय धर्मको अविभाज्य अङ्ग हो, जसले समाजमा सत्य, शान्ति, र समानता कायम गर्छ ।
ग्याडस्टोनले न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो । किङले कुनै पनि स्थानमा भएको अन्यायले सम्पूर्ण संसारको न्यायप्रणालीलाई खतरा पुर्याउँछ । हेमिल्टनले समाजको पहिलो कर्तव्य न्याय दिनु हो । किङले फेरी शान्ति भनेको झगडाको अभाव होइन, न्यायको उपस्थिति हो वेन्जमिनले न्यायबिना साहस पनि कमजोर हुन्छ भनेका थिए । नेपालीमा पनी उक्ति र सुक्ति बने र भनियो । न्याय मर्यो भने राष्ट्र मर्छ । जहाँ अन्याय सहिन्छ, त्यहाँ अन्याय बढ्छ। न्याय अन्धो हुन्छ, तर कमजोर होइन । न्यायको ढोका सबैका लागि खुला हुनुपर्छ । न्याय भनेको मात्र प्रतिशोध होइन, समाज सुधारको बाटो हो । न्यायलाई केवल कानुनी प्रक्रिया होइन, नैतिक, सामाजिक र मानवीय मूल्यको प्रतिनिधित्व गर्ने तत्वका रूपमा चित्रण गर्छन् । न्याय सधैं समयमै, निष्पक्ष, र समान रूपमा हुनुपर्छ यिनै मूल्यलाई यी उक्ति र सुक्तिहरूले जीवन्त बनाउने संस्था अदालत, कर्मी न्यायधिस र कर्ता वकिल जन्मिए ।
न्यायमन्दिर अदालत
अदालत भन्ने आधुनिक धारणा प्राचिन समयमा नदेखिएतापनी यसको समतुल्य तत्व सभा, राजा (न्यायाधीश), सचिव, पुरोहित, धर्म, विवाद समाधान र दण्ड विधान जस्त शब्दहरु भेटिन्छन । मनुस्मृतिको ८।१२ ले “धर्मेणैव समेवेतु विवादान्विनिवर्तयेत्। सत्यं च ब्रूयात्तत्रैव न्यायं चाप्यनुपालयेत्॥” अर्थात राजाले सबै विवादहरूलाई धर्मअनुसार हल गर्नुपर्छ । त्यहाँ (अदालतमा) सत्य बोलिनुपर्छ र न्याय पालन गर्नुपर्छ । मनुस्मृतिको ८।९ ले “स सभाऽऽयमधर्मज्ञा यस्यां धर्मो न दृश्यते। धर्मज्ञा धर्मतः सभ्या यत्र धर्मः प्रवर्तते॥” अर्थात जहाँ धर्म (न्याय) देखिँदैन, त्यो सभा अधर्मी हो । जहाँ धर्मको पालन हुन्छ, त्यो सभा धार्मिक र न्यायिक हो । यो श्लोक अदालतको नैतिक आधार दर्शाउँछ । मनुस्मृतिको ८।१८ ले “राजा तु धर्मतो दण्डं धर्मेणैव प्रयोजयन्। लोकस्य चरितं शुद्धं संप्रसादयति स्वयम्॥” अर्थात राजाले धर्म अनुसार दण्ड दिनुपर्छ । महाभारत, शान्ति पर्व १५।३० ले “राजा धर्मस्य कारणं धर्मो रक्षति रक्षितः। तस्माद्धर्मं न पारित्यजेत् राजा धर्मो हि नः परः॥” अर्थात राजा धर्म (न्याय) को कारण हो। धर्मले रक्षिएको व्यक्तिलाई रक्षा गर्छ। यसैले, राजाले कहिल्यै न्याय त्याग गर्नु हुँदैन । धर्म नै सर्वोपरि हो ।
न्यायिक संस्था जसले जसले न केवल आफ्नो देशभित्र न्याय र विधिको शासन कायम गरेका छन तर केहीले विश्वव्यापी प्रभाव पारेका छन । यी अदालतहरूले ऐतिहासिक फैसला, मानवअधिकारको संरक्षण, लोकतन्त्रको मजबूती र संविधानको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन । आजका विवादहीन अदालत बेलायतमा रहेको मानिन्छ । अन्तर्राष्ट्रिय न्याय अदालत संयुक्त राष्ट्रसंघको प्रमुख न्यायिक अंग जसले राष्ट्रहरू बीचको विवाद समाधान गर्छ । अन्तर्राष्ट्रिय आपराधिक अदालतले युद्ध अपराध, मानवता विरुद्धका अपराध, नरसंहारजस्ता मुद्दामा अभियोग चलाउने हैसियत राख्दछ । संयुक्त राज्य अमेरिका सर्वोच्च अदालत विश्वको सबैभन्दा शक्तिशाली न्यायालय मध्ये एक हो । यसले ऐतिहासिक फैसलाहरू गरेको छ । भारतको सर्वोच्च अदालत विश्वको सबैभन्दा व्यस्त न्यायालय जसले लोकतन्त्र, धर्मनिरपेक्षता, समानता र मानवअधिकारको रक्षकको प्रमाणित गरेको अदालतले ऐतिहासिक फैसलाहरू गरेको छ । जर्मनीको संवैधानिक अदालतले नाजी कालपछि शासन सन्तुलनमा महत्त्वपूर्ण भूमिका छ । युरोपियन मानवअधिकार अदालतले मानव अधिकारको उल्लंघन भएमा नागरिकले राज्यविरुद्ध मुद्दा हाल्न पाउने ब्यवस्था छ । सरकारी दमन विरुद्ध आवाज उठाउने ऐतिहासिक केन्द्र पनी हो । दक्षिण अफ्रिकाको संवैधानिक अदालत अपार्थाइडपछिको नयाँ रक्षक हो । क्यानाडाको सर्वोच्च अदालत लैङ्गिक समानता, आदिवासी अधिकार, र भाषिक अधिकारको पक्षमा ऐतिहासिक निर्णय गरेको छ ।
डाका अपराधीहरु सवौच्व अदालत समेतमा बहस गर्न आउने, कर्मचारी नै न्यायधिस बनेर सार्वजैनिक न्यायको पहुंचको अन्त्य गरिदिने. पदोसापनको भनसुन सहितको हुस्कीरक्सी र मासुभातमा गरिएको दरफीठ सदर गरिदिने, प्रधान आदेश गरिदिई नक्कली प्रमाणपत्र भएको सालालाई करारमा नियुक्ति र उनैलाई विचौलियाको भुमिकामा राख्ने, मेसिनले गर्छ भनेर २५।३० पटक पेशी स्थगित गराईदिने, लगत बढ्छ र मुद्दा घट्छ भनेर करेक्सन तथा निस्सा नदिने, पहुंचका विरुद्द मुद्दा दर्ता गर्दा माथिल्लो ढोकाको आदेश चाहिने, पद पैशा र वर्दीका आडमा भएका सबै हर्कतको परिक्षण नहुने र त्यस्तै कर्य गर्ने कर्मचारी पदोन्नतिको भगीदारीले महान अदालतको शिक्षा कलि शिक्षा बन्नमा मद्दत पुग्ला ।
न्यायका महान न्यायधिस
दर्शनमा प्रमुख न्यायमूर्ति आदर्शमा महान्यायधिश भीष्म थिए । उनले महाभारतमा धर्म, कर्तव्य, र न्यायलाई सर्वोच्च मान्दै निष्पक्ष निर्णय गरेका थिए । युधिष्ठिर सदैव सत्य र न्यायको पक्षमा रहेर शासन गरेका थिए । मनुले न्याय र समाजव्यवस्थाका आधारभूत सिद्धान्त राखेका छन् । मनुस्मृति, याज्ञवल्क्य स्मृतिले न्यायधिसको कर्तव्य, योग्यता र नैतिकता स्पष्ट पारेका छन । न्यायधिसलाई धर्मपालक र सामाजिक अनुशासन कायम गर्ने पदाधिकारीको रूपमा प्रस्तुत गरेको छ । पश्चिमी सभ्यतामा रोम, ग्रीस जस्ता सभ्यतामा पनि न्यायाधीशको प्रचलन थियो । बिभिन्न कानुनी प्रणाली र न्यायपालिका बने । मध्यकालीन युरोपमा न्यायधिसको भूमिका औपचारिक भयो । आधुनिक युगमा न्यायपालिकाको स्वतन्त्रता र अधिकारलाई कानुनले स्पष्ट रूपमा सुनिश्चित गर्यो । न्यायाधीश नियुक्ति प्रक्रिया व्यवस्थित भए र पेशागत प्रशिक्षण सुरु भयो ।
न्याय, नैतिकता, मानवअधिकार, र विधिको शासनको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् जसलाई महान न्यायाधीश भनिन्छ । लॉर्ड डेनिङ बेलायती आमकानूनमा सुधार ल्याउने अग्रणी व्यक्तिले न्यायलाई मानवता र यथार्थसँग जोड्नुपर्ने पक्षमा थिए । उनले “कानून उचित हुनुपर्छ ” भन्ने अवधारणा स्थापित गरेका थिए । थरगुड मार्शल पहिलो अफ्रिकन-अमेरिकन वकिलपछी सर्वोच्च न्यायाधीश हुन । आर. एफ. नारिमन भारतीय सर्वोच्च अदालतका न्यायाधीशले धर्मनिरपेक्षता, व्यक्तिगत स्वतन्त्रता, र संविधानको सर्वोच्चता पक्षमा बलियो आवाज दिएका थिए । बी. आर. कृष्ण अय्यर न्यायलाई जनतामुखी बनाउने क्रान्तिकारी विचारक थिए । मोहन मोगाले भारतमा भारतीय सर्वोच्च अदालतका न्यायाधीश जसले सामाजिक न्याय र मानव अधिकारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनीहरु निष्पक्षता र ईमान्दारी, उच्च कानुनी ज्ञान, सामाजिक न्यायप्रतिको प्रतिबद्धता, नैतिकता र स्वच्छ आचरण, जनताको अधिकारको संरक्षण र न्यायपालिका स्वतन्त्रताको सम्मान गरेका कारण महान भएका थिए । रुथ बेडर जिन्सबर्ग अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश जसले महिला अधिकार र लैंगिक समानताको पक्षमा प्रखर न्यायिक दृष्टिकोण ब्यक्त गरेकी छन । हिसाओ ओकुडा जापानी कानूनी प्रणालीमा मानव अधिकारमा योगदान र पारदर्शिता तथा निष्पक्ष न्यायाधीश मानिन्छ । अन्तोनिन स्कालिया अमेरिकी संविधानका मूल अर्थको व्याख्यामा विश्वास गरी ओरिजनलिष्टको दृष्टिकोणका न्यायाधीश पनी हुन । स्टीफन ब्रेयरले न्यायलाई आधुनिक समाजसँग जोड्न खोज्ने उदार न्यायाधीश हुन । कानूनले जीवनमा परिमार्जन ल्याउनु पर्छ भन्ने पक्षमा उनी थिए । कुफुर्तिले इरानमा कानुनी सुधार र न्यायपालिकाको स्वच्छता कायम राख्ने प्रयासमा सक्रिय थिए । विश्वका असल न्यायधिसहरूले न्याय प्रणालीलाई मजबूत बनाएका छन । जनतामा विश्वास कायम राखेका छन ।
न्यायका महान वकिल
संसारका महान वकिल बेलायती वकिल हुन । महानका एक महात्मा गान्धी हुन । पेशाले वकिल तर जीवनले विश्वव्यापी अहिंसा र नागरिक स्वतन्त्रताको नेता पनी हुन । दक्षिण अफ्रिकामा रंगभेदको विरुद्ध कानुनी लडाइँबाट आफ्नो करियर सुरु गरेका थिए । पछि भारतको स्वतन्त्रता आन्दोलनमा कानुनी र नैतिक नेतृत्व गरेका थिए । अब्राहम लिंकन अमेरिकी राष्ट्रपति हुनु अघि “ईमान्दार एव” उपनामले प्रसिद्ध वकिल थिए । गहिरो तर्क, इमानदारी, र भाषणकलाका लागि परिचित थिए । नेल्सन मण्डेला दक्षिण अफ्रिकाका पहिलो अश्वेत वकिलहरूमध्ये एक थिए । रंगभेदविरुद्ध कानुनी तथा क्रान्तिकारी संघर्ष गरेका थिए । थरगुड मार्शल अफ्रिकन-अमेरिकन समुदायको अधिकार र समानताको लागि ऐतिहासिक मुद्दा लड्ने वकिल थिए । राम जेठमलानी भारतका अत्यन्त प्रतिभाशाली र विवादास्पद वकिलहरूमध्ये एक हुन । आपराधिक मुद्दामा चमत्कारिक बचाव गर्ने क्षमताका कारण चर्चित साथै सांसद, कानूनमन्त्री, र प्राध्यापक पनि हुन । क्लेरेन्स डारो चर्चित “वानर सुनुवाई ” मा विज्ञानको पक्षमा ऐतिहासिक वकालत गरेका थिए । मजदुर अधिकार, मृत्युदण्डविरुद्ध, र धार्मिक कट्टरताविरुद्ध कानुनी संघर्ष गरेका थिए । श्रीनिवास शास्त्री एक कुशल वकिल तथा वक्ता, जसलाई “चादिको जिब्रो ” भनिन्थ्यो । संविधान, शिक्षा र भाषण स्वतन्त्रताको पक्षमा काम गरेका थिए । ऐलेनर रूजबेल्ट यद्यपि औपचारिक वकिल थिइनन्, उनले मानवअधिकार घोषणापत्र लेख्न नेतृत्व दिएकी थिइन् । न्याय र समानताको अन्तर्राष्ट्रिय आवाज उठाएको थिईन । महान वकिलहरू अदालतमा मात्रै होइन, समाजमा पनि न्यायका सिपाही हुन । उनले कानूनलाई केवल विधि होइन, सत्यको आवाज बनाएका छन् । यस्तै न्यायका धारणबाट न्यायसंगति निर्माण भएको थियो । न्यायसंगतिमा रहेका आजको कानून कले ज्ञानले कली युगमा न्यायधारणी गर्दछ की न्यायहरणी गरेको छ हामीले सहकारी ठगी मुद्दामा भएको प्रतिरक्षाबाट बुझ्न सक्छौ ।
न्यायसंगतिमा उत्तर आधुनिक न्याय
उत्तर आधुनिक न्यायमा पश्यिमि समाजले परम्परागत विश्वास, साँचो सत्यको अपूर्वता, समाज र सांस्कृतिक सन्दर्भको विविधता र शक्ति संरचनाहरूको जगमा साँचो सत्यको नकार, शक्ति र संरचनाको आलोचना, न्यायको विकेन्द्रीकरण, विविधता र बिभिन्नताको सम्मान, न्यायको पुनः परिभाषा, न्यायको सामाजिक निर्माण, न्यायको कथन घोतलिएको छ । उत्तर आधुनिक न्याय परंपरागत न्याय प्रणालीहरूको चुनौती हो जसले न्यायको मापदण्ड र सिद्धान्तहरूलाई आलोचना गर्दछ । यसले विविधता, समावेशिता, र सामाजिक सन्दर्भको महत्त्वलाई मनन गर्न प्रस्ताव गर्दछ । न्यायको परिभाषा, समाजका विभिन्न पक्षहरूको दृष्टिकोणमा निर्भर गर्नुपर्ने र त्यहाँको भिन्नता र शक्ति संरचनालाई बुझ्नुपर्ने भएकोले, उत्तर आधुनिक न्याय एक खुला, लचिलो र समावेशी दृष्टिकोण बनेको देखिन्छ ।
फ्रेड्रिक जेम्सनले न्याय, सांस्कृतिक विविधता, र सामजिक संरचनामा पुनर्विचारको आवश्यकता औंल्याई सामाजिक न्यायको अवधारणा दिए । मिशेल फूको विशेष गरी शक्ति र ज्ञानको सम्बन्धमा आफ्नो कामले न्यायको परिभाषालाई परिवर्तन गरेको छ । उनले न्याय र कानूनी प्रक्रियालाई शक्ति र नियन्त्रणको एक रूपको रूपमा विश्लेषण गरे । न्याय केवल कानूनी नियमहरूको पालन मात्र होइन, बरु समाजका शक्तिशाली संस्थाहरूले आफ्ना अधिकार र नियमहरूको माध्यमबाट समग्र समाजमा सत्ता कायम गर्ने प्रक्रिया हो । फूकोको “पारदर्शिता र निगरानी” को सिद्धान्तले न्याय प्रणाली र सजा प्रवृत्तिहरूलाई पुनः विश्लेषण गर्न प्रेरणा दिएको छ। उनले “न्याय र सजाय” पुस्तकमा कानूनी संरचनामा शक्ति र समाजको नियन्त्रणको सम्बन्धलाई विस्तृत रूपमा विश्लेषण गरेका छन् । जीन-फ्रांस्वा लियोटार्ड मुख्यत: सत्य र न्यायको अवधारणामा उत्तर आधुनिक दृष्टिकोण प्रस्तुत गर्छन् । लियोटार्डले “न्याय र नैतिकता” विषयमा व्यापक विचार राखेका छन । ज्याक डेरिडा “डिकन्स्ट्रक्सन” को सिद्धान्तका पिताका रूपमा परिचित छन् । उनले न्याय र भाषा बीचको सम्बन्धलाई गहिरो रूपमा विश्लेषण गरे र न्यायको वास्तविकता र परिभाषा यसकै भाषिक संरचनामा आधारित छन् भन्ने देखाए । उनले न्यायलाई एउटा अस्थिर, परिवर्तनशील, र सांस्कृतिक रूपले निर्भर परिघटना मानेका छन । डेरीदाले “मूल्य र न्याय” सम्बन्धी परंपरागत दृष्टिकोणहरूको आलोचना गर्दै, न्यायका सिद्धान्तलाई समाजको भाषिक संरचनामा आधारित भए पनि, यसका मापदण्डहरू स्थिर र निश्चित हुँदैनन् भन्ने कुरा प्रस्तुत गरे । मार्था नुसबाउमले “क्षमताको दृष्टिकोण”का बारेमा विस्तृत विचार प्रस्तुत गरेकी छन । न्यायलाई व्यक्ति र समुदायहरूको वास्तविक क्षमता र विकासमा आधारित राख्नुपर्ने बताइन । नुसबाउमको क्षमताको दृष्टिकोणले यस विचारलाई परिभाषित गर्छ कि न्यायको परिभाषा केवल कानूनी अधिकारहरू र सामाजिक समानताको आधारमा मात्र होइन, व्यक्तिका समग्र विकास र जीवनको वास्तविक क्षमता वृद्धिमा आधारित हुनुपर्छ । जॉन रॉल्सले “समानता र स्वतन्त्रता” का सिद्धान्तहरू प्रस्तुत गरी “सार्वजनिक तर्क” र “विभाजनको सिद्धान्त” को अवधारणाहरूको माध्यमबाट उत्तर आधुनिक न्यायका सवालहरू उठाए । रॉल्सले “फेयरनेस” (Fairness) का सिद्धान्तमा उत्तर आधुनिक न्यायका पक्षलाई उठाएको छ। यद्यपि उनले परंपरागत न्याय प्रणालीमा अधिक लचिलोता र सामाजिक समावेशीता अनिवार्य ठाने । गायत्री स्पिवकले न्याय र अधिकारका सवालहरूलाई “अल्पसंख्यक” र “उपनिवेशविरोधी” परिप्रेक्ष्यमा विश्लेषण गरेकी छन । उनले उपनिवेशीय र स्त्रीविरोधी न्याय प्रणालीहरू सामान्यतः समाजका अल्पसंख्यक वर्गहरूको आवाज दबाउँछन् । स्पिवकले “सामाजिक न्याय” को पुनः परिभाषा प्रस्तुत गर्दै यसलाई विश्वव्यापी, समावेशी र अल्पसंख्यक समुदायको अधिकारको सम्मानमा आधारित गर्नुपर्ने ठानेकी छन ।
कलीन्यायका न्यायहरणी
धर्मशास्त्रमा वर्णित चार युग मध्ये एक कलीयुग लाई “अन्धकारको युग” वा “विक्षोभको युग” भनेर चिनिन्छ । कलि युगको न्यायको अवस्थालाई श्रीमद्भागवतम् १२।२।१२ ले “कल्युगस्य च यत् शास्त्रं धर्मशास्त्रं प्रमायितम्। तत् सर्वं नष्टं भविष्यति यः सः सत्यं व्रजेद्” अर्थात कलि युगमा धर्मशास्त्रहरूको वास्तविकता समाप्त हुनेछ । यत्रा धर्म र सत्यका मार्गहरू लुप्त हुनेछन् र समाजका सबै मूल्यहरू भंग हुनेछन् । मनुस्मृतिको १२।७२ ले “सर्वे धर्मा हरेत्सम्भवा यदा कालेन पापिनः। कान्तारूपेण विक्रान्ताः कलिं युगे स्वधर्मिणि।” अर्थात कलि युगमा धर्म र सत्यको अवमूल्यन हुनेछ। पापी मानिसहरूले आफ्ना स्वार्थमा आधारित धर्मको उल्लंघन गर्नेछन्, र वास्तविक धर्म विकृत हुनेछ । महाभारत, १९।३५ ले “कलिं युगे धर्मं नष्टं धर्मपाल्यं च विप्रुतम्। धर्मस्य ह्यात्मनं ब्राह्मं सर्वे धर्मेण पालयेत्।”अर्थात कलि युगमा धर्म नष्ट हुनेछ, र यसको पालन गर्ने ब्राह्मणहरू पनि विघटित हुनेछन् । धर्म र न्यायको सही मार्ग पालन गर्नको लागि आत्मा र ब्राह्मणको मार्गदर्शन आवश्यक हुन्छ । श्रीमद्भागवतम् १२।३।४१ ले “सत्यम् ब्रह्म सत्यं धर्मं कलिं युगे नष्टं हि हि। सर्वे प्रपन्ना ह्यधर्मेण निःश्रेयसमुपागच्छेत्।” अर्थात कलि युगमा सत्य र धर्मको हानि हुनेछ, र यस समयमा प्रपन्न व्यक्तिहरू अधर्मका कारण आत्मिक उन्नतिमा पुग्न गाह्रो हुनेछन् । श्रीमद्भागवतम् १२।२।१ ले “कलिं युगे धर्मवृद्धा हिंसा शास्त्रविरोधिनि। सत्यम् धर्मं च नष्टं यथा भगवान्मणि पश्यति।” अर्थात कलि युगमा धर्म वृद्धिको लागि संघर्षको अवस्थाले हिंसा र शास्त्रविरोधी व्यवहारलाई जन्म दिनेछ । सत्य र धर्मको हानि हुनेछ र भगवान यसलाई देख्नुभएको छ । महाभारत, शान्ति पर्वमा “कलि युगे हि धर्मोऽपि दुर्बलतायां हि पश्यति। द्वैपायननृपश्चैव पापकर्माणि पश्यति।” अर्थात कलि युगमा धर्म पनि दुर्बल र कमजोर हुन्छ। मानिसहरू पापपूर्ण कर्महरू गर्नको लागि प्रेरित हुन्छन्, र राजा पनि यसका साक्षी हुन्छन् । श्रीमद्भागवतम् १२।२।४ “कलि युगे अनर्था अपि धर्माश्च नष्टा इति। यदा साक्षात्कारं गच्छंति स्वधर्मं बृद्धि नद्यं।” अर्थात कलि युगमा अनर्थ र अराजकता बढ्नेछन्, र धर्मको वास्तविक मार्ग नष्ट हुनेछ। मानिसहरूलाई आफ्ना कर्महरूलाई सही मार्गमा सुधार्ने चुनौतीहरूको सामना गर्नु पर्नेछ । यी श्लोकहरूले कलि युगमा न्याय र धर्मको पतन र विकृतिको बारेमा विस्तृत रूपमा वर्णन गरेका छन् । त्यस समयमा धर्मको अनुपालन कठिन हुन्छ र मानिसहरू स्वार्थी र पापी गतिविधिहरूमा लिप्त हुन्छन् । यस समयमा को न्यायधिस र कस्तो न्यायधिस तथा कस्तो अदालत भनेर के अर्थ राख्दछ ।
कली न्यायका रुपमा रहेको अवगुणी न्यायले विरोधाभासयुक्त स्थिति वा विडम्बनात्मक सन्दर्भ जनाउँछ । जब न्याय दिने व्यक्ति नै अविश्वसनीय कले र दले हुन्छ, तब न्याय प्रक्रियामै प्रश्न उठ्छ । अवगुणको अनैतिक न्याय चिन्तनयोग्य अभिव्यक्ति हो । यसमा अनैतिक परिवेश, व्यक्तित्व, वा मनोवृत्तिमा रहेर न्याय दिइन्छ । यो न्याय कानूनको लुगा लगाएर अन्यायलाई संरक्षण गर्न प्रयोग हुन्छ । यसले न्यायप्रणालीको पतन, सामाजिक विघटन, वा नैतिक मूल्यहरूको क्षय गर्दछ । कली न्यायका रुपमा रहेको दलिय न्यायले राजनीतिक दल वा पार्टीको स्वार्थ, प्रभाव, वा पूर्वाग्रहमा आधारित हुन्छ न कि निष्पक्षता र कानूनको आधारमा हुन्छ । दलिय न्याय एउटा लोकतान्त्रिक व्यवस्थाको पतनको चेतावनी हो । न्याय जब दलको हातको कठपुतली बन्छ, तब जनताले न्यायप्रणालीमाथि विश्वास गुमाउँछन । राज्य नै संकटमा पर्छ । कली न्यायका रुपमा रहेको दम्भयुक्त न्यायले बाहिरी रूपमा त ठूला आदर्श, सिद्धान्त वा नैतिकताको आवरणमा प्रस्तुत गरिन्छ, तर भित्रभित्रै अहंकार, घमण्ड र आत्मप्रशंसाबाट प्रेरित हुन्छ । त्यो अहंकारको अदालत हो जहाँ सत्य होइन, घमण्ड विजयी हुन्छ । कली न्यायका रुपमा रहेको टपरी न्याय समाजमा तिरस्कारपूर्ण र व्यंग्यात्मक रूपमा प्रयोग हुने अभिव्यक्ति हो, जसले यस्तो न्यायप्रणाली वा निर्णयप्रक्रियालाई जनाउँछ जुन स्थायी, संस्थागत, वा विधिसम्मत होइन, अस्थायी, छरितो, र गहिराइबिना गरिएको हुन्छ । कहिलेकाहीँ अविवेकी, अव्यवस्थित वा लोकलज्जा टार्ने खालको मात्र हुन्छ । टपरी न्यायले समाजलाई आश्वासन दिन्छ तर समाधान कहिल्यै दिन सक्दैन । यो न्याय होइन, केवल कान थुनेर ढुंगा हान्ने प्रयास हो । अस्वथ्थ न्याय सन्तुलित, निष्पक्ष वा सम्यक् छैन । यो अन्याय नहुन पनि सक्छ, तर अपूर्ण, कमजोर, पक्षपातयुक्त वा अव्यवस्थित न्याय हो । सिद्धान्त र प्रक्रिया हुँदाहुँदै पनि यदि न्याय निर्णय कमजोर, अस्पष्ट, वा गहिराइबिनाको हुन्छ, त्यो अस्वथ्थ न्याय हो । यो अपूरो न्याय, असन्तुलित न्याय, अस्पष्ट न्याय, दिशाविहीन न्याय र लाचार न्याय हो । नियुक्ति देखी अन्त्यसम्म हामी यस्तै चरणमा देखिन्छौ र भन्न बाध्य छौ । मनुस्मृति ८।१२८ को अदण्ड्यं यः प्र-दण्डेति दण्ड्यं वा न प्र-दण्डयेत्। स सङ्ग्राहकृतं पापं अदण्डेऽपि निपातयेत्॥ अर्थात जो व्यक्ति दोषीलाई दण्ड नदिईकन छाड्दछ वा निर्दोषलाई दण्ड दिन्छ, उसले अरूका पाप पनि आफूमाथि लिन्छ।
प्राथना
उत्तर आधुनिक न्यायलाई फूकोले न्याय, पावर र सजा एक अर्कामा अविच्छेदित रूपमा बाँधिएका छन् । कानूनी प्रणाली केवल कानूनी दायित्वहरूको पालन गराउने माध्यम मात्र होइन, यो शक्ति संरचनाको एउटा अंग हो, जसले समाजका सबै अंगमा अनुशासन र नियन्त्रण लागू गर्दछ । लियोटार्डले न्यायको सही परिभाषा भन्नु भनेको यसलाई सबैका दृष्टिकोण र कथाहरूको मिलनबद्धता मान्नु हो । एकल सत्य र न्यायको मापदण्ड अस्तित्वमा छैन, बरु यसका धेरै कथा र परिभाषा छन् । डेरिडाले न्याय केवल कानूनी नियमको पालन गर्नु मात्र होइन, यो एक अनिश्चित प्रक्रिया हो जसमा अनिवार्य रूपमा असमझदारी र भिन्नता हुन्छ । न्याय कुनै निश्चित मापदण्डबाट निर्भर हुँदैन, बरु यसका लागि विभिन्न कोण र विचारधाराको समावेश गर्नु पर्छ । जेम्सनले उत्तर आधुनिकता भनेको न्यायका सिद्धान्त र मूल्यहरूको पुनः परिभाषा गर्नु हो, जसले सबैको समान अधिकार र सन्देशमा जोड दिन्छ । नुसबाउमले न्याय केवल कानूनी अधिकारको पालना गर्नेमात्र होइन, यो एक व्यक्तिको क्षमताको आधारमा हुने विकास र समृद्धि हो । यसका लागि व्यक्तिका वास्तविक जीवनको क्षमता र उनको मानवाधिकारको सम्मान आवश्यक छ । गायत्री स्पिवकले समान न्यायको सिद्धान्त न केवल न्यायालयको मान्यतामा आधारित हुन सक्छ, यसलाई संरचनात्मक परिवर्तन र विश्वव्यापी समावेशी दृष्टिकोणमा आधार बनाउनु पर्छ । रॉल्सले न्यायको सिद्धान्त भनेको न्यायपूर्ण सामाजिक व्यवस्था र समान अधिकारका आधारमा मात्र होइन, यो प्रत्येक व्यक्तिको जीवन र अवसरको समानता सुनिश्चित गर्नु हो । उत्तर आधुनिक न्यायका दार्शनिकहरूको भनाइहरूले न्यायमा विविधता, सामाजिक समावेशिता, र शक्ति संरचनाहरूको आलोचनालाई महत्व दिइन्छ । न्याय केवल कानूनी प्रक्रिया मात्रै होइन, बरु यो समाजका सबै वर्गहरूको अनुभव र कथनमा आधारित एक अस्थिर, लचिलो र सामाजिक रूपमा संरचित प्रक्रिया हो । आज हामी न्यायसंगतिको जगमा नभएर न्यायहरणीको युगमा छौ । “न्यायहरणी”लाई बुझ्न मनुस्मृति ८।१५ “यथा राजा तथा प्रजा” अर्थात, जस्तो राजा, त्यस्तै प्रजा। अर्थात अर्थ हो कि शासकले सही र निष्पक्ष न्याय दिनुपर्छ भने मात्र प्रजा समाजमा शान्ति र समृद्धि रहन्छ । जनताको चेतनाको स्तरले स्वीकार नगरेकाले धारणी असंगतिले पुगेको हरणी ज्याक डेरिडाको डिकन्टक्सन नै समाधानको बिम्ब हो । यसबाट चाणक्य नीतिमा उल्लेख भएसरह “पापिनां वचनं मृष्यं, धर्मात्मनां तु किङ्करः। न्यायो हि बलवान् लोके, न बलं न्यायकृद् भवेत्॥“ अर्थात पापीहरूको वचन झूठ हुन्छ, धर्मात्माहरूका शब्दहरू नै सेवनीय हुन्छन । संसारमा न्याय बलवान् हुन्छ, बलको भरमा न्याय हुँदैन भन्ने स्थापित गर्दछ ।