काठमाडौँ : योग्यता अपुरो रहेको निष्कर्षसहितको समितिको प्रतिवेदन आएको भोलिपल्टै सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार मात्र प्रतिवेदन बुझाएको थियो। समितिले बीमा प्राधिकरण अध्यक्षका लागि ओझाको योग्यता अपर्याप्त देखिएको भन्दै कानुनले तोकेको अनुभव पूरा गर्न सम्बन्धित क्षेत्रमा थप कार्यअवधि आवश्यक हुने निष्कर्ष निकालेको हो।
साथै कार्यक्षमता लगायतका विषयमा पनि प्रश्न उठाइएको प्रतिवेदनमा उल्लेख छ। सरकारले गत १२ फागुनमा ओझालाई बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।