काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले आगामी निर्वाचनका लागि सबै तह (प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह)का उम्मेदवार दुई वर्षअघि नै घोषणा गर्नुपर्ने सुझाव दिएका छन्।
पिटिओ खबरसँगको कुराकानीमा गुरुङले अन्तिम समयमा उम्मेदवार घोषणा गर्ने पुरानो परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, ‘समयमै उम्मेदवार छनोट गर्दा पार्टीभित्र असन्तुष्ट पक्षलाई समेट्ने पर्याप्त अवसर मिल्छ। जनताको घर–दैलोमा पुगेर मत माग्ने समय, चुनावी तयारी गर्ने समय, र उम्मेदवार तथा पार्टीका सबै तहका नेता-कार्यकर्ताले दत्तचित्त भएर काम गर्ने वातावरण सुनिश्चित हुन्छ। यसले पार्टीका उम्मेदवारलाई अधिकतम विजय हासिल गर्न सहयोग पुर्याउँछ।’
गुरुङले उम्मेदवारी घोषणामा ढिलाइ गर्दा पार्टीको रणनीति कमजोर हुने र चुनावी तयारीमा बाधा पुग्ने समेत बताए ।