काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने वा नलिनुपर्ने विषय सर्वोच्च अदालतमा पुगेको छ।
उक्त रिटमा आजको लागि पेसी तोकिएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै प्रधानमन्त्री ओलीलाई संसद्बाट विश्वासको मत लिनुपर्ने माग गरेका हुन्। जसपाले असार ३२ गते समर्थन फिर्ता लिएको घोषणापछि ओली सरकार अल्पमतमा परेको दाबी गर्दै रिट दायर गरिएको हो।
रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ।