काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई गीत-नृत्यको पर्व मात्र नभई व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो सम्बन्धित धार्मिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले विज्ञानले समेत व्रतका फाइदाबारे प्रष्ट पारेको उल्लेख गर्दै तीज व्रतलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवका रूपमा व्याख्या गरेका छन् ।
ओलीले प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको स्मरण गर्दै क्रमशः महिलामात्र व्रत बस्ने परम्परा विकसित भएको बताए । अहिले समाजमा यसबारे नयाँ मतहरू समेत देखिन थालेको उनको भनाइ छ ।
‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्,’ भन्दै उनले सबै दिदीबहिनीलाई मंगलमय शुभकामना दिएका छन् ।