काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीज पर्वलाई केवल सांस्कृतिक चाडका रूपमा मात्र नभई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले तीजको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका आमा-दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका हुन् ।
‘नेपाली महिलाहरूले परापूर्वकालदेखि मौलिक सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको तीजको संरक्षण गर्नुका साथै समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणसँग जोडिनु पर्नेछ भन्ने विश्वास गर्दछु,’ शुभकामना सन्देशमा प्रचण्डले उल्लेख गरेका छन् ।