


काठमाडौँ : निरन्तर ओरालो लागेको नेप्से परिसूचकको विषय सोमबार प्रतिनिधिसभामा पनि उठेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकार गठन भएको सय दिन बित्दासमेत अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको आरोप लगाउँदै नेप्सेको गिरावटलाई सरकारको आर्थिक कार्यसम्पादनसँग जोडे।
विशेष समयमा बोल्दै उनले नेप्से परिसूचक करिब २९८ अंकले घट्नु र बैंकिङ क्षेत्रको लगानी सुस्त बन्नु आर्थिक आधार कमजोर हुँदै गएको संकेत भएको बताए। सरकारले आर्थिक गतिविधि चलायमान बनाउन प्रभावकारी पहल गर्न नसकेको उनको आरोप थियो।
बरालले संविधान संशोधन प्रक्रिया, प्रतिनिधिसभा सञ्चालन नियमावली पारित गर्ने शैली तथा विशेष कानुन निर्माणको तयारीप्रति पनि असन्तुष्टि जनाए। यी कदमले कानुनी राज्यको मर्म र संसदीय अभ्यासमाथि प्रहार गरेको उनको भनाइ थियो।
शिक्षा ऐन ल्याउनुको सट्टा नियमावलीमार्फत विद्यालय र शिक्षकलाई नियन्त्रण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए। मौलिक हक र संवैधानिक आयोगमाथि हस्तक्षेप बढेको आरोप लगाउँदै उनले यसले संविधानविद् र राजनीतिक वृत्तमा चिन्ता बढाएको बताए।
आज सोमबार पनि नेप्से परिसूचक २६.२९ अंक घटेर २६२७.११ विन्दुमा झरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |