


काठमाडौं : एसियाली विकास बैंक (एडीबी)ले नेपालसँगको विकास साझेदारीलाई थप विस्तार गर्दै आर्थिक विकास र पूर्वाधार निर्माणमा दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भएको शिष्टाचार भेटमा एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालमा विकास सहयोग अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन्।
करिब आधा घण्टा चलेको भेटमा नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र सुधारमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए।
भेटमा जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधारमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ। अध्यक्ष कान्डाले नेपालको आर्थिक सम्भावना, युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालको समृद्धि यात्रामा एडीबी विश्वसनीय साझेदारका रूपमा निरन्तर साथ रहने प्रतिबद्धता दोहोर्याए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |