


काठमाडौँ :पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने अन्तिम प्रयास स्पेनसँगको हारसँगै समाप्त भएको छ। इन्जुरी टाइमको अन्तिम क्षणमा गोल खाँदै पोर्चुगल १–० ले पराजित भएपछि स्पेनले विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेल अतिरिक्त समयमा पुग्ने अनुमान भइरहेका बेला स्पेनका मिडफिल्डर मिकेल मेरिनोले पोर्चुगलका दुई सेन्टर ब्याकबीचबाट आएको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै तल्लो प्रहारमार्फत निर्णायक गोल गरे।
४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए। त्यसैले यो हारसँगै विश्वकपमा उनको यात्रा टुङ्गिएको छ। अब उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिने भन्ने विषय फुटबल समर्थकमाझ चासोको विषय बनेको छ।
युरोपियन च्याम्पियन स्पेनले अब सेमिफाइनल प्रवेशका लागि अमेरिका वा बेल्जियममध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |