


काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/ ८४ को मौद्रिक नीतिमार्फत न्यून लागतको अर्थतन्त्र कायम राख्दै निजी क्षेत्रको मनोबल उकास्ने रणनीतिलाई निरन्तरता दिएको छ।
विदेशी विनिमय सञ्चिति सुदृढ र समष्टिगत आर्थिक अवस्था अनुकूल रहेको निष्कर्षसहित राष्ट्र बैंकले ७ प्रतिशत आर्थिक वृद्धि र ५.५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति कायम राख्ने लक्ष्य अघि सारेको हो।
मंगलबार गभर्नर विश्व पौडेलले सार्वजनिक गरेको नीतिमा ब्याजदर करिडोर, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा बैंकदर यथावत् राखिएको छ।
कर्जा प्रवाहलाई सहज बनाउन शेयर धितो कर्जाको सीमा संस्थाको सबलताका आधारमा निर्धारण गर्ने, सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारीमा कर्जा-मूल्य अनुपात सहजीकरण गर्ने तथा रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापनका लागि विशेष व्यवस्था गरिने उल्लेख छ। बैंकिङ नियमन सरल बनाउने, विदेशी विनिमय कारोबारका नियम सहजीकरण गर्ने र व्यक्तिगत क्रेडिट स्कोरिङमा आधारित पीयर–टु–पीयर कर्जा प्रणालीबारे अध्ययन गर्ने घोषणा पनि मौद्रिक नीतिमा समेटिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |