


काठमाडौं : इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (IUJ) ले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार र सञ्चारमाध्यममाथि हुने डर, धम्की र अवरोधका घटनाले लोकतान्त्रिक अभ्यास कमजोर बनाइरहेको जनाएको छ।
बुधबार जारी विज्ञप्तिमा संघले काठमाडौंका केही प्रमुख सञ्चारगृहको प्रवेशद्वारमा सवारी तेर्स्याएर अवरोध गरिएको, पत्रकार किशोर श्रेष्ठलाई धम्की दिइएको तथा हिरासतमा लिने प्रयास भएको घटनाको निन्दा गरेको छ। जेन-जी आन्दोलनपछिको निर्वाचनबाट बनेको वर्तमान सरकारका गतिविधिले सञ्चार क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको IUJ को दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठनयता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रतिकूल असर पर्ने गतिविधि बढेको विज्ञप्तिमा उल्लेख छ। निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीतिले स्वतन्त्र पत्रकारिता र मिडिया बहुलवाद कमजोर हुने संघको भनाइ छ।
यस्ता घटनाले पत्रकारमा स्व–सेन्सरसिप बढ्दै गएको र त्यसले नागरिकको सूचनाको हक तथा लोकतान्त्रिक सुशासनमा गम्भीर असर पार्ने चेतावनी पनि IUJ ले दिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |