


काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुमवासी बस्ती व्यवस्थापनका नाममा सरकारले अपनाएको कार्यशैलीका कारण मानवीय क्षति बढेको भन्दै सरकारमाथि नै ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा चल्नुपर्ने प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सुकुमवासी बस्ती खाली गराउने क्रममा सरकारले मानवीय संवेदनालाई बेवास्ता गरेको आरोप लगाइन्। सरकारको अव्यावहारिक नीतिका कारण हालसम्म नौ जनाले ज्यान गुमाइसकेको दाबी गर्दै उनले यसलाई ‘राज्य संयन्त्रबाट भएको संस्थागत हत्या’ को संज्ञा दिइन्।
राज्यले डोजर चलाउन थालेपछि सुकुमवासीहरूले शृंखलाबद्ध रूपमा आत्महत्या गरेको भन्दै उनले त्यसलाई सामान्य आत्महत्या नभई सरकारद्वारा दुरुत्साहित घटना भएको जिकिर गरिन्।
सांसद गुरुङले मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको आत्मदाहलाई पनि राज्यको असफलताको प्रतिविम्बका रूपमा व्याख्या गरिन्। मन्त्रीहरूको सम्पत्तिलगायत गम्भीर विषय उठ्दा सरकारले नयाँ–नयाँ विवाद सिर्जना गरी जनसरोकारका मुद्दाबाट ध्यान मोड्ने गरेको आरोप लगाउँदै उनले युवा नेतृत्वप्रतिको जनअपेक्षा सरकारकै कार्यशैलीका कारण निराशामा बदलिएको बताइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |