


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदलाई एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले नातावाद र परिवारवाद रोक्ने उद्देश्यले स्वकीय सचिव नियुक्तिमा खुला तथा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था गरेको हो।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा स्वकीय सचिव पारिवारिक सम्बन्धभन्दा बाहिरका योग्य व्यक्तिमध्येबाट छनोट गर्नुपर्ने उल्लेख छ। उम्मेदवारको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने र संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनमा अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप तथा पार्टीको मूल्य र मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिने उल्लेख छ। साथै, योग्य महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका उम्मेदवारलाई पनि प्राथमिकता दिइने जनाइएको छ। नियुक्त हुने स्वकीय सचिव अन्यत्र पूर्णकालीन रोजगारीमा आबद्ध हुन नपाउने, दोहोरो आर्थिक सुविधा लिन नपाउने तथा सांसदको जिम्मेवारीसँग स्वार्थ बाझिने अवस्था सिर्जना हुन नहुने व्यवस्था पनि गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |