


काठमाडौं : सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गठित समितिलाई सरकारले यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रतिवेदनलाई थप तथ्यपरक बनाउन गृह मन्त्रालयले समितिमा ब्यालिस्टिक र फरेन्सिक परीक्षणका दुई विज्ञ सदस्यसमेत थप गरेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्य नियुक्त गरेको हो। आइतबार राति देवानगञ्जमा दुई समूहबीच भएको झडपको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको थियो।
मन्त्रालयले सुनसरीजस्तै प्रकृतिका घटना दोहोरिन नदिन बाँके, कपिलवस्तु, धनुषा, सिरहा र सप्तरीलगायत जिल्लामा सुरक्षा सतर्कता बढाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न आवश्यक समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
बुधबार गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सुरक्षा अवस्थाबारे समीक्षा गरिएको तथा वार्तामार्फत समस्या समाधानको पहल जारी रहेको मन्त्रालयले जनाएको छ। देवानगञ्जसहित अन्य संवेदनशील क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |