


काठमाडौं : सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न अवस्थाबारे साझा राजनीतिक धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सर्वदलीय बैठक बोलाएको छ। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा छलफल हुने भएको हो।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार देवानगञ्जको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र आपसी विश्वास कायम गर्न राजनीतिक तहबाट साझा सन्देश आवश्यक ठानिएकाले बैठक आयोजना गरिएको हो। प्रशासनिक प्रयाससँगै राजनीतिक दलहरूबीच सहकार्य र संयमको अपिल गर्दै परिस्थितिलाई थप जटिल हुन नदिन सामूहिक पहल गर्ने उद्देश्यले छलफल आह्वान गरिएको उनले बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |