


राजेन्द्र नेगी
नेपालको राजनीतिक रंगमञ्चमा राप्रपा स्वयंलाई “राजसंस्था र हिन्दू राष्ट्र”को झण्डावाहकका रूपमा प्रस्तुत गर्न रुचाउँछ। तर नाराभन्दा पर गएर यसको वैचारिक जग, ऐतिहासिक व्यवहार र वर्तमान राजनीतिक चरित्रलाई नियाल्दा एउटा असहज सत्य सतहमा आउँछ—राप्रपा न त कहिल्यै वास्तविक अर्थमा राजसंस्थाको वाहक थियो, न पृथ्वीनारायण शाहले देखाएको पृथ्वीपथको उत्तराधिकारी, र न भविष्यमा नै बन्ने कुनै सम्भावना देखिन्छ।
राजसंस्था कुनै प्रतीक मात्र होइनस यो सभ्यता, राष्ट्रबोध, दीर्घकालीन राज्यदर्शन र आत्मनिर्भरतामा आधारित शासनदृष्टिकोण हो। पृथ्वीपथ भन्नु भनेको विदेशी प्रभावबाट मुक्त, आत्मकेन्द्रित, जनमुखी तथा सांस्कृतिक–सभ्यतागत निरन्तरतामा आधारित राष्ट्रनिर्माणको मार्ग हो। तर राप्रपाको राजनीतिक डीएनए यसभन्दा बिल्कुलै फरक छ। यो उदारवाद र पूँजीवादको आयातित ढाँचामा हुर्किएको शक्ति हो, जसको प्राथमिकता राष्ट्रभन्दा बढी शक्ति–साझेदारी र सत्ताको सौदाबाजी रहँदै आएको छ।
इतिहासले नै प्रमाणित गरिसकेको छ—जब राजसंस्था दबाबमा पर्यो, राप्रपा कुनै वैचारिक प्रतिरोधको शक्तिका रूपमा उभिन सकेन। दरबारलाई कमजोर बनाउने, जनआन्दोलनको नाममा विदेशी एजेन्डा प्रवेश गराउने र अन्ततः गणतन्त्रवादी शक्तिसँग सम्झौता गर्दै “एड्जस्ट” हुने भूमिकामै राप्रपा सीमित रह्यो। यदि साँच्चै यो राजसंस्थाको वाहक हुन्थ्यो भने २०६२र६३ को राजनीतिक मोडमा यसले वैचारिक प्रतिरोध गर्थ्यो, सभ्यतागत बहस उठाउँथ्यो र पृथ्वीपथको पुनर्व्याख्या गर्दै राष्ट्रवादी जनआधार निर्माण गर्ने प्रयास गर्थ्यो। तर त्यसको सट्टा उसले सुरक्षित अवतरण रोज्यो—सत्ता बाँडफाँट, मन्त्री पद र संसदीय सौदाबाजी।
वास्तवमा राप्रपाले राजसंस्थालाई ‘एजेन्डा’भन्दा बढी ‘टुल’का रूपमा प्रयोग गर्दै आएको देखिन्छ। चुनावी मौसममा राजा, धर्म र परम्पराको नाम लिने, तर व्यवहारमा विश्व बैंक–आईएमएफ प्रेरित उदारवादी आर्थिक ढाँचा, खुला बजारको अन्धो समर्थन र उपभोक्तावादी सोचमै रमाउने प्रवृत्ति देखिन्छ। यस्तो वैचारिक द्वैधताबाट न राजसंस्था सुदृढ हुन सक्छ, न पृथ्वीपथ पुनर्जीवित हुन सक्छ।
आजको सन्दर्भमा पनि अवस्था धेरै फरक छैन। राप्रपाको नेतृत्वपंक्ति न सभ्यतागत बहसलाई अगाडि बढाउँछ, न वैकल्पिक राज्यदर्शन प्रस्तुत गर्छ। न उनीहरूसँग नेपालको मौलिक राजनीतिक–आर्थिक मोडल छ, न आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको स्पष्ट खाका। उनीहरूको राजसंस्थासम्बन्धी अवधारणा ‘संवैधानिक शोपीस’भन्दा माथि उठ्न सकेको देखिँदैन, जुन पृथ्वीनारायण शाहको एकीकृत, स्वाभिमानी र सशक्त राष्ट्रदृष्टिकोणसँग मेल खाँदैन।
भविष्यतर्फ हेर्दा पनि अवस्था त्यति नै स्पष्ट देखिन्छ। उदारवाद र पूँजीवादको हिमायती दलबाट सभ्यतागत राष्ट्रवादी राजनीति जन्मिन कठिन हुन्छ। पृथ्वीपथ बोक्न आत्मबल, वैचारिक दृढता, विदेशी प्रभावसँग टक्कर लिने साहस र जनतासँग जैविक सम्बन्ध आवश्यक हुन्छ। राप्रपामा यीमध्ये कुनै पनि आधारभूत तत्व पर्याप्त रूपमा देखिँदैन। त्यसैले यो पार्टी राजसंस्थाको पुनर्जागरणको साधनभन्दा पनि त्यसको नाममा राजनीति गर्ने सीमित समूहको प्रतिनिधिका रूपमा देखिन्छ।
अन्ततः, राजसंस्था र पृथ्वीपथको बहसलाई राप्रपाको वरिपरि मात्र सीमित गर्नु आफैँमा भ्रम हुन सक्छ। यदि नेपालले साँच्चै आफ्नो सभ्यतागत आत्मा, राष्ट्रबोध र मौलिक राज्यदर्शन पुनःखोज्ने हो भने त्यसको बाटो उदारवादी–पूँजीवादी दलबाट होइन, सभ्यतागत सिद्धान्तमा आधारित नयाँ राष्ट्रवादी चेतनाबाट मात्र खुल्न सक्छ। राप्रपा त्यो यात्राको वाहक होइन-न हिजो, न आज, न भोलि।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |