


काठमाडौं : साइबर अपराध अनुसन्धानका लागि आवश्यक डिजिटल फरेन्सिक पूर्वाधार नहुँदा नेपाल प्रहरीका मुद्दा वर्षौंसम्म थन्किने अवस्था रहेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्। हालको जनशक्ति र क्षमताले २४सै घण्टा काम गर्दा पनि दर्ता भएका मुद्दाको परीक्षण सक्न करिब चार वर्ष लाग्ने अवस्था रहेको उनले जानकारी दिए।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा साइबर सुरक्षासम्बन्धी छलफलमा आईजीपी कार्कीले साइबर ब्यूरोमा आफ्नै डिजिटल फरेन्सिक प्रयोगशाला, अत्याधुनिक उपकरण र आवश्यक सफ्टवेयरको अभाव रहेको बताए। भएका उपकरण पुराना र अपर्याप्त भएकाले मोबाइल, कम्प्युटरलगायत विद्युतीय उपकरणको वैज्ञानिक परीक्षणमा लामो समय लाग्ने उनको भनाइ थियो।
डिजिटल फरेन्सिकबाट मेटाइएका सामग्रीसमेत पुनः प्राप्त गर्न सकिने भएकाले साइबर अपराध अनुसन्धानमा यसको भूमिका महत्वपूर्ण हुने उनले बताए। तर उपकरण, सफ्टवेयर र दक्ष जनशक्तिको अभावले अनुसन्धान प्रभावित हुनुका साथै अदालतबाट छिट्टै टुंगिन सक्ने मुद्दासमेत वर्षौं ढिलो हुने अवस्था बनेको उनले उल्लेख गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |