


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुने भएको छ। बन्दसत्रका लागि प्रदर्शनी केन्द्रका तीनमध्ये दुई ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ। बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि पनि छलफल गरिने कार्यसूची छ।
यस्तै, बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन् भने त्यसपछि सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराई अनुमोदनको प्रक्रिया अघि बढाउने कार्यक्रम छ। बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूचीसमेत तय गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |