


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको आगामी रणनीति, संगठनात्मक तयारी र महाधिवेशनका एजेन्डाबारे छलफल गर्न शनिबार बैठक आह्वान गरिएको हो।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरस्थित होटल एिमटीमा दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय महाधिवेशनको व्यवस्थापन, महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो, विभिन्न प्रतिवेदनमाथि छलफल तथा विधान संशोधनका प्रस्ताव मुख्य एजेन्डाका रूपमा रहनेछन्।
पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। यही तयारीलाई अन्तिम रूप दिन केन्द्रीय समिति बैठक बोलाइएको जनाइएको छ।
रास्वपाको राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |