


काठमाडौँ : मोरक्कोले स्कटल्यान्डमाथि न्यून अन्तरको जित निकाल्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थान कब्जा गरेको छ। बोस्टन स्टेडियममा शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्कोले नकआउट चरणतर्फ महत्वपूर्ण कदम चालेको हो।
खेल सुरु भएको दोस्रो मिनेटमै इस्माइल साइबारीले गरेको गोल मोरक्कोको जितको आधार बन्यो। ब्राहिम डियाजको सटिक पासमा साइबारीले बललाई जाली चुमाउँदै टोलीलाई प्रारम्भिक अग्रता दिलाएका थिए। त्यसपछि स्कटल्यान्डले खेलमा फर्किने प्रयास गरे पनि अवसरहरूको सदुपयोग गर्न सकेन।
जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा उसले ब्राजिलसँग बराबरी खेलेको थियो। स्कटल्यान्ड भने ३ अंकसहित दोस्रो स्थानमा झरेको छ। हाइटीलाई हराएर प्रतियोगिता सुरु गरेको स्कटल्यान्डले दोस्रो खेलमा हार बेहोरेको हो।
समूहमा एक खेल खेलेको ब्राजिल १ अंकसहित तेस्रो स्थानमा छ भने हाइटी अंकविहीन रहँदै पुछारमा रहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |