काठमाडौं : श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण शुक्रबारदेखि सुरु भएको छ।
रियादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आठ वर्षदेखि त्यहाँ कार्यरत अजय दंगालको बायोमेट्रिक लिई राजदूत डा.नरेश बिक्रम ढकालले औपचारिक सुरुवात गरेका हुन् । भर्चुअल सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा कार्यरत श्रमिकलाई वैधानिकिकरणको दायरामा ल्याउने दूतावासको प्रयासको प्रशंसा गरे। श्रम स्वीकृतिको अभावमा स्वदेश फर्कन नसक्ने अवस्था सिर्जना हुनु मानवीय दृष्टिले अस्वीकार्य भएकाले यो अभियान सुरु गरिएको उनले बताए।
मन्त्री भण्डारीले साउदीसँग द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर हुने तयारी भएको र भविष्यका सेवाहरू प्रविधिमैत्री हुने जानकारी दिए। मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावका कारण राज्यका सेवाबाट वञ्चित भएका नेपालीलाई दूतावासमार्फतै वैधानिकिकरण गर्नुपर्ने औचित्य बताए। राजदूत डा। ढकालले यो अभियानलाई निरन्तरता दिने र विभिन्न संघसंस्थाको सहकार्यमा अघि बढाउने प्रतिवद्धता जनाए ।