काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङले पानीको समस्या समाधान नगर्ने भन्दै यसले जमिनको क्षयीकरण र मरुभूमीकरणको जोखिम बढाउने चेतावनी दिएका छन्।
उनले जमिनको सतह घट्दै जाँदा भविष्यमा पानीको ठूलो अभाव सिर्जना हुने र तराई तथा पहाड दुवै क्षेत्रमा मरुभूमीकरणको खतरा बढ्ने उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा पानीको समस्या समाधान गर्न डिप बोरिङको विकल्प सुझाएसँगै गुरुङले यो अस्थायी समाधान मात्र भएको र यसले जमिन खोक्रो बनाएर भासिने जोखिम निम्त्याउने बताए।
उनले पानीको सतहलाई माथि उकास्न र मरुभूमीकरण रोक्न नदी, खोला र खोल्साको किनारामा स्थानीय प्रजातिका बिरुवा रोप्नुपर्ने तथा खोलाको ढुङ्गा बालुवा निकाल्न रोक्नुपर्नेमा जोड दिए। साथै, नदीको क्षयीकरण रोक्न सङ्घीय सरकारले कडा कानुन बनाउनुपर्ने उनको माग छ।