काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले सहकारी ठगीका मुद्दा शीघ्र टुंग्याउन सरकारसँग माग गरेको छ। असार १६ गतेदेखि सुरु भई सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै कांग्रेसले यो विषयमा संस्थागत धारणा स्पष्ट पारेको हो।
कांग्रेसको माग विशेषतः रास्वपा सभापति रवि लामिछानेमाथि लक्षित देखिन्छ। रविविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै रास्वपाले देशभर हस्ताक्षर अभियान चलाइरहेका बेला कांग्रेसले “दोषीलाई कानुनी दायरामा ल्याउन” माग गर्दै दबाब दिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कतिपय सहकारी संचालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै रु। ५ लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउँदै‘ प्रकृयामा रहेका सबै मुद्दा चाँडै टुंग्याउन” आग्रह गरिएको छ।
एमालेसँग नजिकका नेताहरू समेत ठगीमा संलग्न भएको आरोप लागिरहेका बेला कांग्रेसले चर्किंदो जनदबाबबीच उक्त धारणा सार्वजनिक गरेको हो।