काठमाडौं : नेपाल–चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने करिब २५० मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका विभिन्न जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको हो। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ। यीमध्ये रसुवागढी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति भएको छ। स्टेसन हेड सन्तोष अधिकारीका अनुसार, बाढीले पानी निकास हुने सुरुङबाटै प्रवेश गरी पावर हाउसलाई पूर्ण रूपमा जलमग्न बनाएको छ। यसका साथै, हेडबक्स लगायतका अन्य महत्त्वपूर्ण संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ।
बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्तिमा कमी आएको छ भने क्षति पुगेका संरचनाहरूको मर्मतमा समय लाग्ने देखिएको छ।