केशवप्रसाद चौलागाईं
नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृत्यै भद्रायै नियताः प्रणताः स्म ताम् ।।
प्रसिद्ध महालक्ष्मी मन्दिर क्षेत्रस्थित बोझेपोखरीमा आयोजित हरिहर श्रावण सुधा सत्संग तथा श्रीकृष्ण झुला बोझेपोखरी महामहोत्सवले श्रावणमासलाई आध्यात्मिक जागरणको मास बनाएको छ।
देवी-देवता तथा सिद्ध–साधकहरूको निवास मानिने यस क्षेत्रमा श्रावण १ गतेदेखि २५ गतेसम्म सञ्चालन भइरहेको महोत्सवले राष्ट्रमा रहेका सांस्कृतिक, ऐतिहासिक र धार्मिक मूल्य मान्यता बोकेका सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नेू श्री विश्वशान्ति फाउन्डेसन नेपालको उद्देश्यलाई मूर्तरूप दिएको छ।
स्थानीय पाठ्यक्रममार्फत धर्म, संस्कृति, वातावरण र विश्वशान्तिका लागि प्रेरणा दिने महालक्ष्मी नगरपालिकाको उद्देश्यमा पनि महोत्सवले सहयोग पुर्याएको छ।
नेपाल सरकारले ‘अस्पर्शनीय सम्पदा (intransmissible heritage)’ को सूची तयार गरिरहेको सन्दर्भमा, श्रावण सुधा सत्संगको पनि सूचिकरण हुनु गौरवको विषय हुनेछ। उद्घाटन समारोहमा विभिन्न जनप्रतिनिधिहरू, महिला सहभागिता र प्रस्तुत विचारहरूले सभ्यताको संवादको सुरुआती बिन्दु तय गरेको छ।
श्री सत्येश्वर महादेव, सत्यदेवी, मुचुकुन्द नाग, गौरामहेश्वर, सप्तर्षि, बुढानीलकण्ठ नारायण, गणेश, भैरव आदि देवालयहरूको उपस्थिति रहेको मन्दिर क्षेत्रमा पञ्चधातुद्वारा निर्मित त्रिशूलको स्थापनाले धार्मिक सम्पदाको संरक्षणसँगै विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव १३२५ अनुसार शान्ति प्रक्रियामा जस्तै धर्म–संस्कृति संरक्षणमा पनि महिलाको अनिवार्य सहभागिता हुनुपर्ने चेतना श्री मनसा वाचा महिला समूहको सक्रियताले दिएको छ।
स्थानीय सरकार र न्यायिक समिति बीचको सहकार्यमा मेलमिलापको मार्गचित्र कार्यक्रममार्फत सम्पूर्ण नगरलाई मेलमिलापमय बनाउने प्रयत्न भइरहेको छ।
द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका विषयक अनुसन्धानलाई मूर्तता दिन यो महोत्सवले योगदान पुर्याउने आयोजकले बताएका छन्।
स्वराज्य र मेलमिलापको वातावरणले सुशासन र समृद्धिका लागि उपयुक्त अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। श्री विश्वशान्ति फाउन्डेसन र श्री मनसा वाचा महिला केन्द्र नेपालको संयुक्त प्रयास समाज रूपान्तरणको नमुना बन्ने आयोजकको भनाइ छ।
स्वराज्य पूजन तथा यात्रामार्फत जागृत यस क्षेत्रको प्रभाव अझ फैलिने अपेक्षा गरिएको छ।