काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य तथा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङ पार्टीभित्र विशेष महाधिवेशनबारे फैलिएको चर्चा असत्य भएको बताएका छन् ।
पिटिओ खबरसँग कुराकानी गर्दै गुरुङले पार्टीको विधानअनुसार कुनै तहमा विशेष अधिवेशन नहुने भएकाले कार्यकर्ता र आम जनताले भ्रममा पर्न नहुने बताएका हुन ।
उनका अनुसार सभापति शेरबहादुर देउवाको स्वास्थ्य लाभपछि उहाँको नेतृत्वमा केन्द्रीय कार्य समिति बैठक बसेर मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामाथि समग्र समीक्षा गर्दै पार्टीको भावी नीति, रणनीति र कार्यक्रमबारे निर्णय हुनेछ। विधानअनुसार तोकिएको १५औँ महाधिवेशन देउवाकै सभापतित्वमा हुने स्पष्ट गर्दै गुरुङले भने, “पार्टीको सम्पूर्ण वैधानिक प्रक्रिया पालना गरेर नियमित अधिवेशन भव्य रूपमा सम्पन्न हुनेछ।”
गुरुङले निर्वाचनलाई मुख्य प्राथमिकता दिँदै सबै तहका उम्मेदवार घोषणा गरेर मतदातामाझ पुग्ने तयारी भइरहेको बताए। साथै केन्द्रीय विभागलाई पूर्णता दिने, कार्यसम्पादन समिति र संसदीय समितिमा युवाको सहभागिता बढाउने, पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिल्लादेखि निर्वाचन क्षेत्रसम्म संगठन सुदृढ गर्न खटाइने जानकारी दिए।
उनले पार्टीभित्र सुधारको अभ्यास सुरु गर्न अब केन्द्रीय बैठकमा सबैलाई समान बोल्ने समय दिने परम्परा अपनाइने पनि बताए। “सकारात्मक सन्देश प्रवाह गर्ने काम सानो भए पनि महत्वपूर्ण हुन्छ, यसबाट नै समाज र मतदाताको विश्वास जित्न सकिन्छ,” गुरुङले भने।