

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन भोलि काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुने तय भएको छ ।
उद्घाटनस्थलमा मञ्च निर्माणसहित व्यवस्थापनसम्बन्धी काम अन्तिम चरणमा पुगेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको हो । विशेष महाधिवेशनका लागि देशभरका जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ। महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ। व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण र बसोबासको समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै अगाडि बढाइएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको यो विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ। यद्यपि, पार्टीको संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व तहमा छलफल र आन्तरिक संवाद तीव्र बनेको छ ।
