


काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पार्टीको प्रशिक्षण विभागले काठमाडौंस्थित संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबारदेखि प्रशिक्षण सञ्चालन गरेको हो ।
प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार कार्यक्रममा रास्वपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरू सहभागी हुनेछन् । प्रशिक्षण बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।
सांसदहरूलाई संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति निर्माण, संसदीय आचरण तथा समसामयिक राजनीतिक विषयमा अभिमुखीकरण गराइने जनाइएको छ । पार्टीले प्रशिक्षणमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई निर्देशनसमेत दिएको छ ।
रास्वपाले संसद्मा आफ्नो प्रस्तुतिलाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित रूपमा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । पार्टीले नयाँ पुस्ताका सांसदहरूलाई संसदीय प्रक्रियामा थप दक्ष बनाउन प्रशिक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |