


काठमाडौं : पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ। हिमपहिरोपछि बेपत्ता रहेका आरोहीको अवस्थाबारे अन्योल कायम रहेकै बेला ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले शनिबार सबैको मृत्यु भएको आधिकारिक जानकारी दिएका हुन्।
बिहीबार गएको हिमपहिरोमा परेकामध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी छ जना बेपत्ता थिए। खराब मौसमका कारण उद्धार तथा खोजी कार्य प्रभावित भएको जनाइएको छ।
दुर्घटनामा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा गरी छ नेपाली आरोहीको ज्यान गएको छ। यस्तै पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि मृत्यु भएको छ।
सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल छ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा नेपालको पर्वतारोहण क्षेत्रका अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व थिए। हिमपहिरोले आरोहीहरूलाई करिब ६ हजार मिटरभन्दा माथिबाट झन्डै ८०० मिटर तलसम्म बगाएको बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |