


काठमाडौँ : कप्तान लियोनल मेसीको कीर्तिमानी प्रदर्शनसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम ३२ टोलीभित्र प्रवेश गरेको छ। समूह जे अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २-० ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो।
जितका दुवै गोल मेसीले गरे। उनले ३८औँ मिनेटमा गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे। उक्त गोलसँगै विश्वकपमा उनको व्यक्तिगत गोल संख्या १७ पुगेको थियो। यसअघि यो कीर्तिमान जर्मनीका पूर्व अग्रपंक्तिका खेलाडी मिरोस्लाभ क्लोजको नाममा १६ गोलसहित रहेको थियो।
गत साता अल्जेरियाविरुद्ध लगातार तीन गोल गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका ३८ वर्षीय मेसीले खेलको थप गरिएको समयमा अर्को गोल थपे। त्यससँगै उनको विश्वकप गोल संख्या १८ पुगेको छ।
दुई खेलबाट अर्जेन्टिनाले ६ अंक जोडेको छ। अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन्। अर्जेन्टिनाले एक खेलअगावै दोस्रो चरणको यात्रा तय गरेको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |