


काठमाडौँ : केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। संसद्को जारी अधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक विषयमा छलफल गर्न दुवै बैठक आह्वान गरिएको हो।
एमाले सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा संसद्मा पार्टीको भूमिकालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
संसदीय दलको बैठक सम्पन्न भएपछि एमालेले सचिवालय बैठक पनि बोलाएको छ। सचिवालय बैठक साँझ ६ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बस्ने तय गरिएको सचिवालयले जनाएको छ।
बैठकमा सरकारको कामकारबाही, संसद्को गतिविधि, पार्टी संगठनका समसामयिक विषय तथा आगामी राजनीतिक कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। पछिल्ला राजनीतिक घटनाक्रमका बीच एमालेले एकै दिन संसदीय दल र सचिवालय बैठक राखेकाले त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |