


धनगढी : जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार धनगढीमा सुदूरपश्चिमका विभिन्न कम्युनिस्ट धारका नेताहरूलाई एउटै मञ्चमा ल्याएर विशेष विचार गोष्ठी आयोजना गरिने भएको छ। मदन भण्डारी फाउन्डेसन कैलालीको आयोजनामा दिउँसो १ः३० बजे मनमोहन स्मृति भवनमा हुने कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलन, जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीको राजनीतिक विचारबारे छलफल गरिनेछ।
फाउन्डेसनका कैलाली अध्यक्ष रामचन्द्र जोशीका अनुसार गोष्ठीको उद्देश्य कम्युनिस्ट नेताबीच वैचारिक संवाद, एकता र संगठनात्मक सन्देश प्रवाह गर्नु हो। कार्यक्रममा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज दामोदर भण्डारी, केन्द्रीय सदस्य कर्ण थापा तथा नेपाल कम्युनिस्ट पार्टीका नेता दीर्घ सोडारी, रमेश धामीलगायतलाई आमन्त्रण गरिएको छ।
गोष्ठीमा जबजको वर्तमान सान्दर्भिकता, नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान र समकालीन राजनीतिक परिवेशमा त्यसको प्रभावबारे विमर्श हुने आयोजकले जनाएको छ। फाउन्डेसनका अनुसार कार्यक्रम जन्मजयन्तीको औपचारिकतामा सीमित नभई भण्डारीको वैचारिक विरासत नयाँ पुस्तासम्म पुर्याउने र कम्युनिस्ट आन्दोलनभित्र संवाद तथा सहकार्यको वातावरण सुदृढ गर्ने प्रयास समेत हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |