

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मङ्गलबार साँझ ५ बजेसम्म १ हजार ३ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीले प्रभावित विभिन्न आठ जिल्लाबाट उक्त संख्यामा शवहरू फेला पारिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार चितवनमा सबैभन्दा बढी ३ सय ६३ जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा २ सय २६, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९७ र रसुवामा १ सय ७३ जनाको शव फेला परेको छ। गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन गर्दै १ हजार १ सय ४० वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। सनाखतका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान हुन बाँकी १ हजार ३ सय १० शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |