

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की करोडौँ रुपैयाँ भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनारले आईजीपी कार्कीमाथि कारबाही नगर्नुको कारणबारे सरकारसँग जवाफ मागेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिहरूमा उनीविरुद्ध उजुरीको चाङ लागिसक्दा पनि छानबिन र बर्खास्तीको प्रक्रिया अघि नबढाइनुले सरकारको नियतमाथि शङ्का उब्जाएको सुनारले बताए। ‘उनीमाथि किन छानबिन भइरहेको छैन ? के उनलाई सरकारले नै बचाइराखेको छ ?’ उनले प्रश्न गरे।
सांसद सुनारका अनुसार तल्लो तहका प्रहरी कर्मचारीका लागि आवश्यक पर्ने जुत्ता, मोजालगायतका बन्दोबस्तीका सामान खरिद गर्दा आईजीपी कार्की, उनकी श्रीमती र अन्य उच्च अधिकारीहरू मिलेर ठूलो रकम हिनामिना गरेका छन्। अरू सामान्य आरोप लाग्दासमेत मन्त्रीहरूले पद गुमाउनुपर्ने परिपाटी रहेको उल्लेख गर्दै करोडौँको भ्रष्टाचार प्रकरणमा मुछिएका प्रहरी प्रमुखलाई जोगाएर राखिनु आश्चर्यजनक भएको उनको भनाइ छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |