


काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएको अभिव्यक्तिप्रति नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शर्माले गृहमन्त्रीले सांसदहरूले उठाएका विषयलाई ‘घाँटी सुक्नेगरी चिच्च्याएको’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले संसद्को गरिमा र सांसदहरूको भूमिकामाथि अपमान गरेको बताए। संसद्मा सरकारलाई जवाफदेही बनाउने दायित्व सांसदहरूको संवैधानिक जिम्मेवारी भएको उनको भनाइ थियो।
‘सदनले सरकारलाई सदनमै खोज्ने हो, सरकारले पनि सदनलाई जानकारी दिने हो। सांसदहरूले उठाएका विषयलाई चिच्च्याएको भनेर भन्न मिल्दैन,’ उनले भने।
शर्माले गृहमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। आगामी दिनमा सरकारका प्रतिनिधिले संसद्मा जिम्मेवारीपूर्वक प्रस्तुत हुन र सांसदका प्रश्नको सम्मानपूर्वक जवाफ दिनुपर्ने उनले आग्रह गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |