


काठमाडौँ : संवैधानिक परिषद्ले सिफारिस गरेका प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको नियुक्ति प्रक्रिया अब संसदीय सुनुवाइको चरणमा प्रवेश गरेको छ। संसदीय सुनुवाइ समिति (संयुक्त) ले बिहीबारदेखि प्रस्तावित उम्मेदवारमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्दै आवश्यक कार्यतालिका तय गर्ने भएको हो।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने बैठकले सुनुवाइको मिति, प्रक्रिया र सार्वजनिक सूचना जारी गर्ने विषयमा निर्णय गर्ने संसद् सचिवालयले जनाएको छ।
संवैधानिक परिषद्को १९ असारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा राजीब सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन नभएसम्म उनीहरूको नियुक्ति हुन सक्दैन। सुनुवाइका क्रममा उम्मेदवारको योग्यता, व्यावसायिक अनुभव, निष्पक्षता र भावी कार्ययोजनाबारे सांसदहरूले प्रश्न उठाउनेछन्। समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |