


काठमाडौँ : अविरल वर्षासँगै पहिरो र लेदो खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले सोमबार राति सूचना जारी गर्दै सडकको विभिन्न स्थानमा जोखिम कायम रहेकाले अर्को सूचना नआएसम्म यात्रा स्थगित गर्न अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सडक प्रयोग नगर्न आग्रह गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सेतीदोभानसहित विभिन्न स्थानमा माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका एम्बुलेन्ससहितका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको कार्यालयले जनाएको छ। राति साढे १० बजे जारी सूचनाअनुसार निरन्तर वर्षाका कारण पहिरो र लेदो खस्ने क्रम जारी रहेकाले सडक खुलाउने प्रयाससँगै जोखिममा परेका यात्रुको उद्धारलाई प्राथमिकता दिइएको छ। अलपत्र परेका केही यात्रुलाई एम्बुलेन्समार्फत सडक पार गराएर सुरक्षित स्थानमा पुर्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |