


काठमाडौँ : नेपाली समाजमा खस आर्य समुदायको भाषिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मष्ट पूजाको उत्पत्ति कर्णाली र तत्कालीन खस राज्यबाटै भएको दाबी शोधकर्ताहरूले गरेका छन्। तर, देशका अन्य भेगमा सर्वसाधारणले मान्दै आएको मष्टको स्वरूप र इतिहासबारे भने अझै पनि व्यापक अध्ययन र अन्योल कायमै रहेको छ।
खोज तथा अनुसन्धानकर्ता सुधिरकुमार रेग्मीका अनुसार हामीले बोल्ने वर्तमान नेपाली भाषा र सभ्यताको मुख्य उद्गम स्थल खस क्षेत्र नै हो। सोही खस सभ्यताको अभिन्न अङ्गका रूपमा विकसित भएको मष्ट परम्परा पछिल्ला केही वर्षयता मात्र व्यापक चर्चा र बहसको विषय बन्न थालेको हो।
मष्टको मूल उद्गम थलो कर्णाली र साविकको खस राज्य नै हो। केही दशक अघिसम्म मध्य तथा सुदूरपश्चिम बाहिर मष्टबारे खासै चर्चा वा ज्ञान थिएन, रेग्मी भन्छन्, ‘पछिल्ला १०–१२ वर्षयता मात्रै यो विषयले सांस्कृतिक रूपमा व्यापक्ता पाएको हो ‘।
मष्टको कुनै ठोस दृश्य आकृति वा निश्चित मूर्ति छैन। योगी नरहरिनाथ लगायतका इतिहासकार तथा शोधकर्ताहरूले मष्टलाई भगवान् शिवको एउटा अंश वा रूपका रूपमा व्याख्या गरेका छन्। कतिपयले यसलाई प्राकृतिक शक्ति र कुल परम्परासँग जोडेर हेर्ने गरेका छन्।
किंवदन्ती अनुसार बनारसबाट आएका एक आर्य ब्राह्मणले कर्णालीमा उल्टो बगेको ढुङ्गा भेट्टाएर ल्याएको र धाइरोको रुखमा राख्दा सोही स्थानमा अदृश्य शक्ति प्रकट भई ‘म यहीँ मष्टका रूपमा रहन्छु’ भनेपछि पूजाअर्चना सुरु भएको विश्वास पनि गरिन्छ। सोही परम्परा अनुसार आज पनि कुलपूजा गर्दा धाइरो वा रुखका हाँगाबिँगा गाड्ने र शरीरमा रुखका पातहरू बेरेर धामी काँप्ने चलन कायमै रहेको छ।
वर्तमान समयमा जजमान गुरुङ, अभिषेक जोशी लगायतका युवा शोधकर्ता तथा विद्वान्हरूले मष्ट र खस संस्कृतिबारे गहन अध्ययन र पीएचडी (विद्यावारिधि) अनुसन्धान गरिरहेका छन्।
इतिहास र धार्मिक मान्यताका हिसाबले मष्टको स्वरूपबारे भिन्न-भिन्न मत रहे तापनि खस-आर्य क्षेत्रको ऐतिहासिक संस्कृति र मौलिक पहिचानका रूपमा यसलाई निरन्तरता दिँदै संरक्षण गर्नुपर्ने धारणा अध्येताहरूको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |