


काठमाडौँ : कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने निश्चित भएपछि मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाटै आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले अविश्वास प्रस्तावमाथिको छलफलअघि नै पद त्यागेको घोषणा गरेका हुन्।
कांग्रेस र नेकपाका १६ सांसदले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ बजे बैठक बोलाइएको थियो। बैठकमा सम्बोधनका क्रममा कँडेलले सत्ता पदभन्दा जनताको सेवा र राजनीतिक मूल्य-मान्यता आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै आफ्नो लागि कुर्सी ठूलो विषय नरहेको बताए।
यसअघि सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले असार ३१ गते सामूहिक रूपमा सरकारबाट राजीनामा दिएपछि कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। कँडेल २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |