


काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको संगठनात्मक जगभन्दा जनअपेक्षा र आकार धेरै ठूलो बनेको स्वीकार गर्दै जसरी पनि सम्हालेर लैजाने प्रतिबद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बलियो सांगठनिक संरचना बन्नुअघि नै जनताको तीव्र परिवर्तनको चाहनाले रास्वपा ठूलो पार्टी बनेको बताए। ‘हाम्रो जगले धान्नेभन्दा ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’उनले भने, ‘तर बनिसकेपछि यसलाई जहाँ जहाँबाट हुन्छ, टेको लगाएर भए पनि सुरक्षित ढंगले अड्याउने जिम्मेवारी हाम्रै हो।’
फागुन २१ को निर्वाचनपछि दुई तिहाइ नजिकको एकल सरकार चलाइरहेको रास्वपाको चार महिने कार्यकाल विवादित बनिरहेका बेला लामिछानेको यस्तो भनाइ आएको हो। युवा राजनीतिमाथि उठ्ने प्रश्नतर्फ लक्षित गर्दै उनले भने, ‘युवाहरू आलाकाँचा हुन्छन् भन्ने भाष्यलाई कर्मबाटै गलत साबित गर्नुछ, ताकि आउने पुस्ताका लागि राजनीतिमा आउने बाटो बन्द नहोस्।’

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |