


काठमाडौँ : नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज तथा मधेसका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय र सर्वस्वीकार्य न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले उक्त माग गरेका हुन्। गृह मन्त्रालय मातहत गठन गरिने छानबिन समितिले सरकारका कमजोरी ढाकछोप गर्न सक्ने आशङ्का व्यक्त गर्दै काँग्रेसले स्वतन्त्र र निष्पक्ष आयोगको आवश्यकता औँल्याएको छ।
प्रवक्ता चालिसेले विगत १२ दिनदेखि अनसनरत विनय यादवको बिग्रँदो स्वास्थ्यस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। सरकारले सहमति र सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले नागरिकमा नैराश्यता र राज्यप्रतिको अविश्वास बढाएको टिप्पणी उनले गरे।
पार्टीको आन्तरिक विषयले अहिलेसम्म बैठकमा प्रवेश नपाएको र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलिसम्ममा उचित निर्णय सार्वजनिक गरिने काँग्रेसले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |